कैलालीमा प्रमुख  र  उप-प्रमुखमा दोहोरिन चाहेकालाई जनताले नपत्याएपछि लज्जास्पद हार

कैलालीमा प्रमुख  र  उप-प्रमुखमा दोहोरिन चाहेकालाई जनताले नपत्याएपछि लज्जास्पद हार

धनगढी। कैलालीका स्थानीय तहहरुमा दोस्रो कार्यकालका लागि प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षमा दोहोरिन खोज्नेहरुलाई जनताले पत्याएनन् । २०७४ को निर्वाचनबाट निर्वाचित भइ पाँच वर्ष कार्यकाल गुजारेका उनीहरु फेरि पनि सोही पद्कै लागि उम्मेदवार भए पनि वैशाख ३० गतेको निर्वाचनमा लज्जास्पद हार भएको छ ।

जिल्लामा चार नगरप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपप्रमुख र एक जना उपाध्यक्ष पाँच वर्ष बिताइसकेको पद्मा दोहोरिनका लागि चुनावमा होमिएका थिए । तर, उनीहरु ठूलो मतान्तरले पराजित भएका छन् ।धनगढी उपमहानगरपालिकाको प्रमुखमा पुनः दोहोरिन खोेजेका नृपबहादुर वड सबैभन्दा बढी मतान्तरले पराजित भएका छन् ।

उनलाई १२ हजार ४८ मतले स्वतन्त्र उम्मेदवार गोपाल हमालले पराजित गरे । गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेका नेपाली काङ्ग्रेसका वडको पक्षमा १४ हजार ८१७ मत आयो भने, विजयी भएका हमालको पक्षमा २६ हजार ८६५ मत । २०७४ को निर्वाचनमा हमाललाई नै पराजित गरेर वड मेयरमा निर्वाचित भएका थिए ।

यस्तै, घोडाघोडी नगरपालिकामा नेकपा (एमाले) बाट मेयरका उम्मेदवार ममताप्रसाद चौधरी पराजित भए । एक कार्यकाल मेयर पद्मा रहेर काम गरिसकेका उनलाई २०७९ को स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का खडकबहादुर रावतले पराजित गरे । दोहोरिने दाउमा लागेका चौधरी पनि अत्यधिक मतले अस्वीकृत भएका छन् । उनी चार हजार ८८७ मतान्तरले पराजित भएका हुन । पराजित भएका चौधरीले आठ हजार २४१ मत पाए । विजयी भएका रावतको पक्षमा १३ हजार १२८ मत प¥यो ।

भजनी नगरपालिकाको मेयरमा दोहोरिन खोजेका नेकपा (माओवादी केन्द्र) का शेरबहादुर चौधरी पनि मतदाताबाट अस्वीकृत भएका छन् । उनलाई तीन हजार ७६८ मतान्तरले नागरिक उन्मुक्ति पार्टीका केवल चौधरीले पराजित गरे । गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका चौधरीको पक्षमा पाँच हजार १९८ मत आयो । विजयी भएका चौधरीलाई आठ हजार ९६६ मत प्राप्तभयो । २०७४ को निर्वाचनमा केवललाई नै पराजित गरेर शेरबहादुर चौधरी भजनी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

यसैगरी, लम्कीचुहा नगरपालिकाको मेयरमा महादेव बजगाई पराजित भएका छन् । दोहोरिन खोजेका उनलाई पनि भारी मतान्तरले जनताले पाखा लगाए । गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली काङ्ग्रेसका सुशीला शाहीले दुई हजार २७८ मतान्तरले बजगाईको दोहोरिने सपना चकनाचुर पारिन । पराजित भएका बजगाईको पक्षमा १० हजार ४३५ मत आयो भने भने विजेता शाहीको पक्षमा १२ हजार ७१३ मत परेको छ । लम्कीचुहा नगरपालिकामा बलियो मानिदैं आएका बजगाई गठबन्धनको सिकार भए ।

यस्तै, कैलारी गाउँपालिकाको अध्यक्षमा दोहोरिन खोजेका लाजुराम चौधरी पनि भारी मतले अस्वीकृत भएका छन् । चार हजार ६२ मतान्तरले उनलाई नेपाली काङ्ग्रेसका राजसमझ चौधरीले पराजित गरे ।२०७४ को निर्वाचनमा राजसमझलाई पराजित गरेर लाजुराम गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । यस पटक राजसमझले बाजी मारेका छन् । पराजित भएका चौधरीले छ हजार ४३० मत प्राप्त गरे । विजयी भएका चौधरीले १० हजार ४९२ मत प्राप्त गरेका छन् । गठबन्धन सहयात्री नेपाली काङ्ग्रेस, माओवादी केन्द्रबीच जिल्लाको अन्य स्थानीय तहमा चुनावी तालमेल भए पनि कैलारीमा दुवै पार्टी छुट्टाछुट्टै निर्वाचनमा होमिएका थिए ।

यसैगरी, गोदावरी नगरपालिकाको उपप्रमुखमा दोहोरिन खोजेकी गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका रत्ना कडायत पनि जनताबाट अस्वीकृत भएकी छन् । उनलाई ६८७ मतान्तरले नेकपा (एमाले) की शारदादेवी रोकायाले पराजित गरिन । पराजित कडायतले नौ हजार ९८३ मत प्राप्त गरिन् । विजयी भएकी रोकायाको पक्षमा १० हजार ६७० मत आएको छ ।

यस्तै, कैलारी गाउँपालिकाको उपाध्यक्षमा दोहोरिने प्रयास गरेकी माओवादी केन्द्रका लक्ष्मी सत्गौंवालाई पनि मतदाताले पत्याएनन् । उनलाई चार हजार सात मतान्तरले नेपाली काङ्ग्रेसकी भगवती चौधरीले पराजित गरिन । पराजित भएकी सत्गौंवाको पक्षमा छ हजार ४७७ मत आयो भने, विजयी भएकी चौधरीको पक्षमा १० हजार ४८४ मत परेको छ ।

यसैगरी, दोहोरिन खोजेका धेरैजसो वडा अध्यक्षहरु पनि पराजित भएका छन् । भाग्यशाली बनेका केही वडा अध्यक्षहरुमात्रै दोहोरिएका छन् । २०७४ को निर्वाचन जितेका कतिपय वडा अध्यक्षले टिकटै पाएनन् । टिकट पाएकामध्ये धेरैजसोले चुनाव जित्न सकेनन् । दलहरु प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षमा चुनावी तालमेल गरेर चुनाव लडे पनि वडा अध्यक्षमा भने प्रायः एक्लाएक्लै लडेका थिए । दोहोरिएर चुनाव जित्ने धेरै जसो वडा अध्यक्षहरु नेपाली काङ्ग्रेसका छन् ।