गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीमा हस्ताक्षर संकलन

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीमा हस्ताक्षर संकलन

धनगढी। नेपाल सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल नसमेटिएको भन्दै स्थानीय आन्दोलित बनेका छन्। नेपाल सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल नसमेटिएको भन्दै स्थानीयहरूले सरकारविरुद्ध चरणवद्ध रुपमा आन्दोलन गरिरहेका हुन्।

कैलालीको धनगढी र अत्तरियाका स्थानीयले मेडिकल कलेज सञ्चालनका लागि स्वस्फूर्त रुपमा छुट्टाछुट्टै आन्दोलन गरिरहेका हुन्। मेडिकल कलेज सञ्चालनका लागि भौतिक संरचना तयार रहे पनि नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै सुदूरपश्चिमवासी आन्दोलित बनेका हुन्। अत्तरियामा लोकराज पाण्डे (आगो)को संयोजकमा युवाहरू आन्दोलित बनेका छन्। धनगढीमा संयुक्त नागरिक आन्दोलनको नाममा विरोध भइरहेको छ। आज बिहानैबाट धनगढीमा तीन स्थानमा गेटा मेडिकल सञ्चालनको पक्षमा हस्ताक्षर संकलन थालिएको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले बताए।

हामीले बिहान धनगढीका तीन स्थानमा हस्ताक्षर संकलन गरिरहेका छौं। हाम्रो एउटै माग छ, गेटा मेडिकल कलेजमा स्वास्थ्य सेवासहित पठनपाठनको व्यवस्था हुनुपर्छ, उनले भने, हस्ताक्षर संकलनपछि हामीले प्रधानमन्त्री, अर्थमन्त्री र स्वास्थ्यमन्त्रीलाई उक्त हस्ताक्षर पठाउने छौं। जेठ १२ गते (शुक्रबार) बिहान एल एन चौकमा १० बजे देखी हस्ताक्षर संकलन र धर्ना, दिउसो ३ बजे प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, ४ बजे एलएन चोकमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम तय भएको छ। यस्तै जेठ १३ गते बिहान ८ बजे गेटा मेडिकल कलेजमा सांकेतिक विरोध स्वरुप नागरिक स्तरबाट स्वास्थ्य सेवा परीक्षण गर्ने कार्यक्रम रहेको दबाब समूहले जनाएको छ।