प्रधानमन्त्री देउवा माथि खनिए सांसद राना: भन्छन्, ‘अब कुन मुख लिएर सुदूरपश्चिम जानुहुन्छ’ ?

प्रधानमन्त्री देउवा माथि खनिए सांसद राना: भन्छन्, ‘अब कुन मुख लिएर सुदूरपश्चिम जानुहुन्छ’  ?

काठमाडौँ । नेकपा एमालेका सांसद नारदमुनि रानाले सरकारले जारी गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजलाई समावेश नगरेकोमा आक्रोश पोखेका छन् ।

शुक्रबार सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले प्रश्नमाथि प्रश्न गर्दै सरकारप्रति आक्रोश पोखेका हुन् ।

‘नीति तथा कार्यक्रमको ११३ देखि ११६ बुँदासम्म पुग्दाखेरी पनि स्वास्थ्यको क्षेत्रमा कहीँ पनि ठोस कार्यक्रम लेखिएको देखिएन । केवल देखियो कहाँ भन्दाखेरी डडेल्धुरामा । त्यहाँ सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा नेपाल मेडिकल कलेज खोल्ने कुरा मात्र पाएँ ।

मलाई सुदूरपश्चिमवासी जनताले सोधिरहेका छन्, कैलालीको गेटामा बनेको २७ वटा भवनहरूले सोधिरहेका छन्, त्यहाँका नागरिक समाजहरूले सोधिरहेका छन्, त्यहाँका उद्योगी व्यवसायीहरूले सोधिरहेका छन्, सिंगो ३० लाख जनसंख्या रहेको सुदूरपश्चिमले सोधिरहेको छ– गेटामा मेडिकल विश्वविद्यालय बनाउने सपनाप्रति यो सरकार किन उदासिन छ?,’ सांसद रानाले प्रश्न गरे ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले धोका दिएको पनि आरोप लगाए । पूर्वमन्त्री समेत रहेका रानाले देउवालाई ‘अब कुन मुख लिएर सुदूरपश्चिम जानुहुन्छ’ भनेर प्रश्नसमेत गरे ।  

‘गेट मेडिकल कलेजको विषय सरकारको नीति तथा कार्यक्रमा किन समावेश भएन भनेर त्यहाँ थुप्रै जनताहरूले सोधिरहेका छन् । तर, यो दस्तावेज मौन छ । दुःखका साथ भन्नु परेको छ । शेरबहादुर देउवा जी तपाईँ त्यही प्रदेशबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ । तपाईँ कुन मुख लिएर सुदूरपश्चिममा पाइला टेक्नुहुन्छ ? तपाइँलाई लगाएको २१ किलोको माला तपाईलाई सोधिरहेको छ ।

हामीले तपाईलाई सुदूरपश्चिम महोत्सवमा २१ किलोको माला लगाएका थियौं,’ रानाले भने, ‘के केपी शर्मा ओलीले गेटा मेडिकल कलेजको शुभारम्भ गरेको, नेकपा एमालेको सरकारले गेटा मेडिकल कलेज बनाएको कारणले आज त्यो मेडिकल कलेज अथवा त्यो मेडिकल विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठान नीति तथा कार्यक्रममा नपरेको होरु यो प्रश्न सुदूरपश्चिमवासीको छ ।’

नारायण गोपालको गीत गुन गुनाउँदै सांसद रानाले सरकारको नीति तथा कार्यक्रमप्रति सत्ता गठबन्धनकै सांसद सन्तुष्ट नभएको पनि उल्लेख गरे । ‘आँखा छोपी नरोऊ भनी भन्नुपर्या छ, मुटुमाथि ढुंगा राखी हाँस्नुपर्या छ ।

त्यसकारण यो नीति तथा कार्यक्रम सत्ता गठबन्धनको साझा डकुमेन्ट होकि सत्ता गठबन्धनको घोषणापत्र यसो हेर्दै जाँदाखेरी म मात्र होइन सिंगो नेपाली जनता कन्फ्युजनमा परेका छन्,’ सांसद रानाले भने, ‘सत्ता गठबन्धनका माननीयज्यूहरूको रोइलो देखेर साँच्चै नै गठबन्धन बनाएर उहाँहरूले मुटुमाथि ढुंगा राखेर हाँस्नु परेको कुरा पनि यही रोस्टमबाट सुन्न पाउँदा मलाई लज्जाबोध भएको छ, दुःख लागेको छ ।’