सुदूरपश्चिमका ३८४६ जना जनप्रतिनिधि मध्ये स्थानीय तहमा थारुको प्रतिनिधित्व कति ?

सुदूरपश्चिमका ३८४६ जना जनप्रतिनिधि मध्ये स्थानीय तहमा थारुको प्रतिनिधित्व कति ?

धनगढी । जातीय जनसङ्ख्याको आधारमा समान प्रतिनिधित्व हुनु पर्ने माग गर्दै आएको थारु समुदायबाट तीन सय ७५ जना व्यक्ति सुदूरपश्चिममा स्थानीय तहका जनप्रतिनिधिको रुपमा निर्वाचित भएका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट उनीहरु जनप्रतिनिधिमा निर्वाचित भएका हुन । नौ जिल्ला रहेको यो प्रदेशमा कैलाली र कञ्चनपुरमामात्रै थारु समुदायको बसोबास रहेको छ ।

निर्वाचन आयोगका अनुसार दुई जिल्लाबाट प्रमुख वा अध्यक्षमा ८, उपप्रमुवा वा उपाध्यक्षमा १० र वडा सदस्यमा ८१ जना निर्वाचित भएका छन् । यस्तै, कैलालीको १३ स्थानीय तहमध्ये ११ र कञ्चनपुरको नौ वटै पालिकामा गरेर दुई सय ७६ जना वडा सदस्यमा निर्वाचित भएका छन् । कैलालीको मोहन्याल र चुरे गाउँपालिकामा थारु समुदायको बसोबास नरहेका कारण दुई पालिकामा यो जातिको जनप्रतिनिधि छैनन्।

सुदूरपश्चिममा तीन हजार ८४६ जना जनप्रतिनिधिको लागि निर्वाचन भएको थियो । जसमध्ये थारु समुदायको प्रतिनिधित्व ९.७५ प्रतिशत रहेको देखिएको छ । सुदूरपश्चिममा थारु समुदायबाट नगरपालिका वा गाउँपालिकाको प्रमुखमा ९ प्रतिशत, उपप्रमुख वा उपाध्यक्षमा ११.३६ प्रतिशत र वडा अध्यक्षमा ११ प्रतिशत प्रतिनिधित्व भएको देखिन्छ ।

थारु समुदायको बाहुल्यता रहेको कैलालीमा यो समुदायबाट दुई नगरपालिकामा नगर प्रमुख, तीन पालिकामा गाउँपालिका अध्यक्ष विजयी भएका छन् । टीकापुर नगरपालिकाको मेयरमा रामलाल डङ्गौरा थारु, भजनी नगरपालिकाको मेयरमा केवल चौधरी निर्वाचित भए । यस्तै, जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर चौधरी र कैलारी गाउँपालिकाको अध्यक्षमा राजसमझ चौधरी निर्वाचित भए । 

यस्तै, तीन नगरमा उपप्रमुख र तीन गाउँपालिकामा उपाध्यक्ष थारु समुदायबाट निर्वाचित भएका छन् । धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा कन्दकला राना, लम्कीचुहा नगरपालिकामा जुना चौधरी र घोडाघोडी नगरपालिकाको उपप्रमुखमा गुलियादेवी चौधरी निर्वाचित भइन् । 

यसैगरी जानकी गाउँपालिकाको उपाध्यक्षमा लालमतिदेवी कठरिया, जोशीपुरको उपाध्यक्षमा रेखादेवी कठरिया र कैलारी गाउँपालिकाको उपाध्यक्षमा भगवती चौधरी निर्वाचित भए । 

यस्तै, कञ्चनपुरमा थारु समुदायबाट एक जना नगर प्रमुख, दुई जना गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । बेलौरी नगरपालिकाको प्रमुखमा पोतिलाल चौधरी निर्वाचित भए । लालझाँडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना र बेलडाँडी गाउँपालिकाको अध्यक्षमा हरिश चन्द्र राना निर्वाचित भए । 

यसैगरी, बेलौरी नगरपालिकाको उपप्रमुखमा जोगराम चौधरी, कृष्णपुरको उपप्रमुखमा द्रोपती राना र पुनर्वास नगरपालिकाकोे उपप्रमुखमा भुलिया राना निर्वाचित भएका छन् । लालझाडी गाउँपालिकाको उपाध्यक्षमा सपना चौधरी निर्वाचित भइन् । 

कैलालीमा थारु समुदायबाट वडा अध्यक्षमा ५८ र वडा सदस्यमा २०२ जना निर्वाचित भएका छन् । १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकामा वडा नम्बर ६, ७, ८, १०, १५, १६ र १९ गरी आठ वडामा थारु समुदायबाट अध्यक्ष निर्वाचित भए । यस्तै, गोदावरी नगरपालिकामा ५, ६, ८ र ९ गरी चार वडामा थारु समुदायका व्यक्ति वडा अध्यक्षमा निर्वाचित भएका छन् । 

थारु बहुल कैलारी गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ६, ८ र ९ गरी सात वडामा थारु समुदायका व्यक्ति वडा अध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी, भजनी नगरपालिकाको वडा नम्बर ३, ४, ६, ७, ८ र ९ गरी छ वटा वडाको जिम्मेवारी थारु समुदायका व्यक्तिको भागमा परेको छ । बर्दगोरिया गाउँपालिकाको ५ र ६ गरी दुई वटा वडामामात्रै थारु समुदायका व्यक्तिले वडा अध्यक्ष जितेका छन् । 

यस्तै, घोडाघोडी नगरपालिकामा २, ६, ७, ११ र १२ गरी पाँच वडामा थारुले जितेका छन् । जोशीपुर गाउँपालिकाको १, २, ३, ४, ५ र ६ गरी छ वटा वडामा थारुले वडा अध्यक्ष जितेका छन् । टीकापुर नगरपालिकामा २, ४, ५, ६ र ९ गरी पाँच वडाको वडा अध्यक्षमा थारु समुदायका व्यक्तिको जित भएको छ । यसैगरी, जानकी गाउँपालिकाको १, ३, ४, ५, ६ र ७ वडामा वडा अध्यक्षमा थारुको जित भएको छ । लम्कीचुहा नगरपालिकामा ७, ८, ९ र १० गरी चार वटा वडाको वडा अध्यक्षमा थारु समुदायकै व्यक्तिको जित भएको छ । वडा अध्यक्षमा कैलालीबाट थारु समुदायको उपस्थिति ७.९० प्रतिशत रहेको छ । 

कञ्चनपुरमा वडा अध्यक्षमा २३ र वडा सदस्यहरुमा ७४ जना निर्वाचित भएका छन् । यो जिल्लाको कृष्णपुर नगरपालिकाको ३, ६ र ७ गरी तीन वटा वडामा थारु समुदायका व्यक्ति वडा अध्यक्षमा निर्वाचित भए । यसैगरी, पुनर्वास नगरपालिकामा १, ७, ८ र १० गरी चारवटा वडा थारु समुदायको पोल्टामा परेको छ । 

बेल्डाँडी गाउँपालिकामा वडा नम्बर ३ मामात्रै थारुले वडा अध्यक्ष जित्न सकेका छन् । बेलौरी नगरपालिकामा २, ५, ६, ८, ९ र १० गरी छ वडामा थारु समुदायका व्यक्तिले वडा अध्यक्ष जितेका छन् । भीमदत्त नगरपालिकामा वडा नम्बर १९,  लालझाडी गाउँपालिकामा वडा नम्बर १, २, ३ र ४ मा थारु समुदायका व्यक्तिको वडा अध्यक्षमा जित भएको छ । 

वेदकोट नगरपालिकाकोे वडा नम्बर ६, शुक्लाफाँटाको वडा नम्बर २, ३ र १२ मा थारु समुदायका व्यक्तिले वडा अध्यक्ष जितेका छन् । कञ्चनपुरको दोधारा चाँदनीमा यो समुदायले एक वडा सदस्यमामात्रै चित्त बुझाएको छ । कञ्चनपुरबाट वडा अध्यक्षमा थारु समुदायको सभागिता ३.१३ प्रतिशतमात्रै रहेको छ । जातीय जनसङ्ख्याको आधारमा हरेक क्षेत्रमा समानुपातिक सहभागिताको लागि आवाज उठाउँदै आएको थारु समुदायको स्थानीय तहमा उपस्थिति अझै न्यून नै रहेको देखिएको छ ।