सत्तागठबन्धनबीच संसदीय चुनावबारे छलफल , निर्वाचन मंसिरमा नै ?

सत्तागठबन्धनबीच संसदीय चुनावबारे छलफल , निर्वाचन मंसिरमा नै ?

सत्तारूढ गठबन्धनमा मंसिरअगावै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्न छलफल सुरु भएको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै गठबन्धनमा शीर्ष नेताबीच यसबारे छलफल सुरु भएको हो । 

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार यसबारे शीर्ष तहमा छलफल सुरु भएको छ । उनका अनुसार मंसिरअगावै निर्वाचन सम्पन्न गर्नेबारे नेताहरूबीच छलफल भएको हो । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताको बैठकमा यसबारे प्रस्ताव आएको थियो । ‘कात्तिक अन्तिम साता निर्वाचन गर्नुपर्छ भनेर मैले प्रस्ताव गरेको थिएँ । यसमा साथीहरूको मिश्रित प्रतिक्रिया आएको छ,’ उनले भने औपचारिक सहमति भने भइसकेको छैन । छलफलपछि टुंगो लाग्छ ।’ 

उनले अधिकांश नेताहरूले नेपालको अभ्यासअनुसार पनि मंसिरअगावै निर्वाचन गर्नुपर्नेमा मत राखेको बताए । मौसम र भूगोलका आधारमा पनि मंसिरअगावै निर्वाचन गर्नुपर्नेमा नेताहरूले जोड दिएको उनले जानकारी दिए । ‘भौगोलिक र मौसमका कारण पनि मंसिरदेखि फागुनसम्म हिमाली क्षेत्रमा निर्वाचन गराउन सकिँदैन । अवधि सकिनुअगावै निर्वाचन गर्न मंसिरअघिको समय उपयुक्त हुन्छ भन्ने छलफल भएको छ,’ उनले भने, ‘नेताहरूको मिश्रित प्रतिक्रिया आए पनि हामीले कात्तिकमै निर्वाचन गर्नुपर्छ भनेर जोड दिएका छौँ । औपचारिक रूपमा कुनै निर्णय भइसकेको होइन ।’ 

बैठकमा नेताहरूबीच मंसिर या फागुनमा निर्वाचन गर्ने भन्नेबारे सामान्य छलफल भएको थियो । निर्वाचनको विषयलाई लिएर यसबाहेक छलफल नभएको नेताहरूले बताएका छन् । कांग्रेस वरिष्ठ नेता तथा रामचन्द्र पौडेलले भने औपचारिक रूपमा निर्वाचनको मिति तोक्नेबारे छलफल नभएको बताए । माओवादी केन्द्रका नेता वर्षमान पुनले आफूहरू कात्तिकको अन्त्य या मंसिरको सुरुमा नै निर्वाचनको पक्षमा रहेको बताए । ‘यसअघि मंसिरमा निर्वाचन भएको थियो । तर, संसद्को कार्य प्रारम्भ फागुनबाट भयो । यसमा मंसिर मान्ने या फागुनलाई भन्ने द्विविधा देखिन्छ,’ उनले भने, ‘पार्टीका तर्फबाट हामीले कात्तिकको अन्त्य या मंसिरको सुरुमा नै निर्वाचन हुनुपर्छ भनिरहेका छौँ । यसअघि ०७४ मंसिर १० र २१ गते गरी दुई चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको थियो । 

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति तय गर्नेबारे आन्तरिक परामर्श गरिरहेका छन् । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार समयमै निर्वाचन सम्पन्न गर्न परामर्श गरिरहेका छन् । प्रवक्ता महतले मंसिरभित्रै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्रीको तयारी रहेको संकेत गरे । ‘पदावधि सकिँदै छ । पदावधिअगावै निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ । सम्भवतः निर्वाचन मंसिरमा नै हुन्छ । प्रधानमन्त्री आन्तरिक परामर्श गरिरहनुभएको छ,’ उनले भने ।