अछामको तुर्माखाँद गाउँपालिका का विकासका एजेन्डाहरु

अछामको तुर्माखाँद गाउँपालिका का विकासका एजेन्डाहरु

अछाम ।
अछामको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले आफुले गाउँपालिकाका समग्र विकासको लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन । चुनावका बेला नेकपा एमालेले टिकट दिएर निर्वाचनमा होमिएको र विजयी भइसकेपछि अब समग्र पालिकाको अध्यक्ष भएको भन्दै सबैको सल्लाह र सुझावअनुसार अघि बढ्ने बताएका हुन् । उनले गाउँपालिकाको समग्र विकासका लागि आफुले तयार गरेको घोषणापत्र, चुनावमा गरेका प्रतिवद्धता तथा स्थानीयको आवश्यकताका आधारमा काम गर्ने बताए ।

नेकपा एमाले जिल्ला कमिटी उपसचिव तथा अनेरास्ववियू स्थायी कमिटी सदस्य समेत रहेका अध्यक्ष बिसीले तुर्माखादका विभिन्न सम्भावनालाई उजागर गरी अघि बढ्ने समेत बताए । विगतका जनप्रतिनिधिले गरेका राम्रा कामलाई आत्मसात गदै अघि बढ्ने भन्दै उनले पालिकामा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएको बताए ।

शिक्षा क्षेत्रको सुधार र विकास नगरी अन्य क्षेत्र राम्रो नहुने आफ्नो अनुभव रहेको भन्दै पालिकामा कक्षा १० सम्मको शिक्षा निःशुल्क गर्ने, निजी स्रोतका शिक्षकको व्यवस्थापन गर्ने, तुर्माखाँद बहुमुखी क्याम्पस सञ्चालन गर्ने, कक्षा १२ सम्मको विद्यालय सञ्चालन गर्ने लगायतका निर्णय गरेको भन्दै अब यसको कार्यान्वयनमा जोड दिने अध्यक्ष बिसीको भनाई छ ।


आफ्नो व्यक्तिगत स्वार्थ तथा अपेक्षा कुनै पनि नभएको भन्दै सामूहिक विकासका लागि नै आफ्नो ध्यान हुने उनको दाबी छ । हरेकका व्यक्तिगत चाहना पूरा गर्न नसकिने भन्दै सामूहिक विकास तथा देखिने गरी विकासका काममा आफ्नो जोड रहने अध्यक्ष बिसीको भनाई छ ।

पालिकाका वडा नम्बर १ र २ मा सडक सञ्चालनको लागि पालिकाले पहल गर्ने भन्दै पहिलो वर्षमै दुबै वडामा यातायातको पहुँच पुर्याउने लक्ष्य रहेको अध्यक्ष बिसीले बताए । अध्यक्ष विसीले तुर्माखाँद गाउँपालिका क्षेत्रमा २ वटा राष्ट्रिय गौरवका योजना अपर कर्णाली जलविद्युत आयोजना र बेतन कर्णाली जलविद्युत आयोजना रहेको उल्लेख गरे ।


बेतन कर्णालीको कामले गति लिएपनि भारतीय जीएमआर कम्पनीले जिम्मा लिएको अपर कर्णालीको काम हाल ठप्प प्रायः रहेको बताए । यसमा पालिकाको क्षेत्राधिकार नभएपनि पालिकाको तर्फबाट घच्घच्याउने र समन्वय गर्ने उनको भनाई छ । लामो समयदेखि जीएमआरले ओगटेको उक्त योजना कि छिटो बनाउनुपर्ने नभए फिर्ता हुनुपर्नेमा जोड दिए ।