कैलाली लगायत सुदूरपश्चिमभर वडा नेतृत्वमा महिलाको प्रतिनिधित्व न्यून, पुरुषको वर्चस्व

कैलाली लगायत सुदूरपश्चिमभर वडा नेतृत्वमा महिलाको प्रतिनिधित्व न्यून, पुरुषको वर्चस्व

धनगढी। वडामा पुरुष वर्चस्वकाबीच सुदूरपश्चिम प्रदेशका पाँच जना महिलाले वडा चलाउने जिम्मेवारी प्राप्त गरेका छन् । वैशाख ३० गते भएको निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित भइ पाँच जना महिलाले वडा चलाउने जिम्मेवारी प्राप्त गरेका हुन ।

जसमध्ये सबैभन्दा बढी कैलालीमा चार जना महिला वडा अध्यक्षमा भएका निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । यसैगरी, एक जना महिला बझाङमा वडा अध्यक्षमा निर्वाचित भएर कामकाज गरिरहेकी छन् । बाँकी सात जिल्लाका पालिकाहरुमा पुरुषलेमात्रै वडा वडा चलाइ रहेका छन् ।

प्रदेशभरि ७३४ वडा रहेकोमा बाजुरास्थित बुढीगङ्गा नगरपालिकाको १० वटै वडाको नतिजा आइसकेको छैन । नतिजा आइसकेको ७२४ वडामध्ये पाँच वडाको वडा चलाउने जिम्मेवारी महिलाको काँधमा छ । हालसम्मको नतिजा अनुसार वडा अध्यक्षको रुपमा यस प्रदेशमा महिलाको प्रतिनिधित्व ०.६९ प्रतिशतमात्रै रहेको छ । जुन पुरुष प्रतिनिधित्वको तुलनामा अत्यन्त न्यून हो । विभिन्न पालिकाको ७१९ वडामा पुरुषको उपस्थिति छ ।

अर्थात ९९.३१ प्रतिशत वडा कार्यालय पुरुषको हातमा छ । आयोगको तथ्याङ्क अनुसार कैलालीको जोशीपुर गाउँपालिका–३ मा रेणुकुमारी डङ्गौराले वडा अध्यक्षको जिम्मेवारी प्राप्त गर्न सफल भएकी छन् । नवगठित नागरिक उन्मुक्ति पार्टीबाट उहाँले २२ मतको फरकले नेपाली काङ्ग्रेसका किशोरकुमार कठरियालाई पराजित गरेर वडाको जिम्मेवारी प्राप्त गरिन् । चौधरीले ६१५ मत प्राप्त गर्दा कठरियाको पक्षमा ५९३ मत आयो ।

यस्तै, गौरीगङ्गा नगरपालिका–८ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का करुणा चौधरीले बाजी मारिन । ९१३ मत प्राप्त गरेकी उनले २६० मतान्तरले नेपाली काङ्गे्रसका भगवानदिन चौधरीलाई पराजित गरिन् । पराजित चौधरीले ६५३ मत प्राप्त गरिन् । कैलालीकै गोदावरी नगरपालिका– ७ को वडा अध्यक्षमा नेकपा (एमाले) का कलावती साउँद विजयी भएकी छन् । उनले नेपाली काङ्ग्रेसका जानकीदेवी पाठकलाई ३१७ मतान्तरले पराजित गरी वडाको नेतृत्व गर्ने अवसर प्राप्त गरिन् । साउँदले ९२६ मत प्राप्त गर्दा पाठकको पक्षमा ६०९ मत आयो । यसैगरी, लम्कीचुहा नगरपालिका–५ मा माओवादी केन्द्रका माया विष्ट वडा अध्यक्षमा निर्वाचित भइन् । ३० मतको अन्तरले जनता समाजवादी पार्टीका सुरेश चौधरीलाई पराजित गरी उहाँले वडा अध्यक्षको जिम्मेवारी प्राप्त गरिन् । विष्टको पक्षमा ६३६ मत प्राप्त भयो ।

चौधरीलाई ६०६ मत आएको थियो । यस्तै, बझाङको खप्तडछान्ना गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका गौरीकुमारी अधिकारी विजयी भइन् । नेकपा (एमाले) का उम्मेदवार लक्ष्मणबहादुर रोकायालाई ८१ मतान्तरले पराजित गरी उनले वडा चलाउने जिम्मेवारी प्राप्त गरिन् । विजयी भएकी अधिकारीले ३७१ मत प्राप्त गर्दा रोकायालाई २९० मत मिल्यो ।

प्रदेशको कञ्चनपुर, डोटी, अछाम, बाजुरा, बैतडी, डडेल्धुरा र दार्चुलामा भने एक जना पनि महिला वडा अध्यक्षमा जित्न सकेनन् । प्रदेश भरिको वडा कार्यालयमा पुरुषको वर्चस्व रहेको छ । दलहरुले विभिन्न पालिकामा महिला वडा अध्यक्ष उम्मेदवार नबनाएका होइनन् ।

तर, वडा अध्यक्षका कतिपय महिला उम्मेदवार पराजित भएका छन् । प्रदेशभरि वडामा महिलाको प्रतिनिधित्व निकै न्यून रहेको छ । सुदूरपश्चिम प्रदेशमा पालिका प्रमुखमा महिलाको सङ्ख्या झनै कम रहेको छ । जम्मा दुई जना महिलामात्रै पालिकाको प्रमुखमा निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेसबाट कैलालीको लम्कीचुहा नगरपालिकामा सुशीला शाही र अछामकोे पञ्चदेवल नगरपालिकाको प्रमुखमा अम्बिकाकुमारी चलाउने निर्वाचित भएका छन् ।

स्थानीय तहको दोस्रो निर्वाचनबाट प्रमुखमा जित्ने महिलाको सङ्ख्या भने एक वटा बढेको छ । २०७४ को निर्वाचनबाट डोटीको दिपायल सिलगढी नगरपालिकामामात्रै प्रमुखमा महिला निर्वाचित भएकी थिइन् । यस पटकको निर्वाचनबाट प्रदेशका स्थानीय तहमा प्रमुखको रुपमा महिलाको प्रतिनिधित्व २.२९ प्रतिशत रहेको छ ।