बजेटमा काँग्रेस, माओवादीका मन्त्रीहरू निरीह देखिए : पूर्वमन्त्री बोहरा

बजेटमा काँग्रेस, माओवादीका मन्त्रीहरू निरीह देखिए : पूर्वमन्त्री बोहरा

अनिता चौधरी/बसन्त बि.क - धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारले बुधबार सार्वजनिक गरेको आगामी अर्थिक वर्ष २०७९-८० को बजेट ५ वर्षकै सबै भन्दा कमजोर रहेको पूर्व प्रदेश आर्थिक मामिला मन्त्री एवम् नेकपा एमालेका नेता झपट बहादुर बोहराले बताएका छन् । 

सुदूरपश्चिम सरकारले बुधबार  बजेट सार्वजनिक गरेपछि धनगढीखबरलाई प्रतिक्रिया दिँदै उनले गठबन्धन दलका दलहरुले मिलेर बजेट ल्याएपनि काँग्रेस, माओवादीका मन्त्रीहरू निरीह देखिएको बताए । 

बोहराले आर्थिक अनुशासनको परिधिभित्र बसेर बजेट नल्याइएको प्रतिक्रिया दिए ।उनले चुनावमुखी बजेट ल्याएको र सांसद तथा मन्त्रीहरू निरीह रहेको आरोप लगाए ।

 ‘गठबन्धन सरकारबाट आएको बजेट हो । जुन पार्टी र मन्त्री बलियो छन्, बजेट बनाउँदा जसको भूमिका बढी रहन्छ, त्यो मन्त्रालयको मन्त्रीहरूले बढी बजेट पाएको देखिन्छ । सांसदहरु निरीह देखिए,' उनले भने, 'चुनावमुखी र कार्यकर्ता रिझाउने बजेट रहेको छ । बजेटमा पारदर्शिताको अभाव रहेको बजेट देखिन्छ । बजेट दुरुपयोग हुने सम्भावना बढी देखिन्छ, बजेट गठबन्धदलको बीचमा आए पनि नेपाली काग्रेंस, माओवादी केन्द्रका मन्त्रीहरू निरीह देखिन्छन् । समाजवादीले बढी भाग ओगटेको देखिन्छ ।’

सुदूरपश्चिम प्रदेश सरकारले समाजवादीका मन्त्रीहरूलाई समेत चासो नदेखाएको आशय व्यक्त गर्दै बोहराले प्रदेशमा रहेका शक्तिशाली मन्त्रीले आफ्नो जिल्लामा बजेट हालेको र यो बजेट नै नभई चुनौतीको पोको भएको प्रतिक्रिया दिए ।  

बोहराले बजेटमा भएका नाराहरू हास्यास्पद भएको समेत बताएका छन् । उनले, ‘बजेटमा नारा आएका छन् ती नारा हरू २ तिन कक्षामा पढ्ने बच्चाको नारा जस्तो छ । यो बजेट पाँच वर्ष को अवधिमा आएको सबैभन्दा निर्यात बजेट रहेको गठबन्धने बाडी खाने बजेट हो ।’

उनले यो बजेट ५ वर्षको सबै भन्दा कमजोर बजेट र यस बेलाका कृषिलाई बढी प्राथमिकता दिनु पर्नेमा भौतिक पूर्वाधार मन्त्रालय ५० प्रतिशत दिनु अशोभनीय भएको बताए ।

त्यस्तै, अर्थ मन्त्रालय र भौतिक मन्त्रालयमा समाजवादीका मन्त्री भएकाले पनि गठबन्धन सरकारका अन्य पार्टीहरू ओझेलमा परेको उनको भनाई छ । 

‘ओरालोमा गएको अर्थतन्त्र लाई झन् तल झार्ने बजेट ल्याएको छ । चुनावी भाग भन्डा कार्यकर्ता लागी भोट बैंकका रूपमा आएको छ यसको संशोधन हुनु पर्छ ।’

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० का लागि ३६ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । प्रदेश सभाको बुधवारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर रावलले ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका हुन् । 

चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रकम विनियोजन गरिएको छ ।