हङकङको प्रतिष्ठित तैरिरहेको जम्बो रेष्टुरेन्ट डुब्यो

हङकङको प्रतिष्ठित तैरिरहेको जम्बो रेष्टुरेन्ट डुब्यो

तैरिरहेको रेष्टुरेन्टको रुपमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको हङकङको एउटा रेष्टुरेन्ट डुबेको छ । झण्डै ५० वर्षदेखि बन्दरगाहमा सञ्चालन भइरहेको उक्त रेष्टुरेन्टलाई त्यहाँबाट डोरीमा बाँधेर तानिँदै गरेको अवस्थामा रेष्टुरेन्ट डुबेको हो ।

जम्बो रेस्टुरेन्ट अज्ञात स्थानतर्फ जाने क्रममा साउथ चाइना सागरमा डुबेको यसको मूल कम्पनीले जनाएको छ एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले आफूहरु यो घटनाका कारण असाध्यै दुःखित भएको तर यो क्रममा चालक दलका कोही पनि सदस्य घाइते नभएको जानकारी दिएको छ ।

उक्त रेस्टुरेन्ट मार्च २०२० मा कोभिडको महामारीका कारण बन्द गरिएको थियो ।महारानी, ​​टम क्रुज र रिचर्ड ब्रान्सन लगायतका ३० लाख भन्दा बढी पाहुनाहरूले विगतका वर्षहरूमा यहाँको  क्यान्टोनिज खानाको आनन्द लिएको विश्वास गरिन्छ ।

यसलाई धेरै चलचित्रले पनि स्थान दिएको थियो । तर महामारी सुरु भएपछि मानिसहरुबीच भेटघाट, खानपिन बन्द भएपछि यसले यो रेष्टुरेन्टलाई ठूलै चोट प्रहार गर्यो ।

उक्त रेष्टुरेन्टलाई डोरीमा बाँधेर यात्रा  गराउनु अघि समुद्री इन्जिनियरहरूलाई निरिक्षणमा लगाइएको थियो । उक्त रेष्टुरेन्टका मालिकका अनुसार इन्जिनियरले यसलाई यात्रा गराउन ‘ग्रिन सिग्नल’ दिएपछि मात्रै आफूहरुले कामको थालनी गरेका थिए ।

नयाँ सञ्चालक अन्तर्गत यो रेष्टुरेन्टलाई एक अज्ञात स्थानमा राखिने योजना बनाइएको थियो ।‘तर आइतबार प्रतिकूल अवस्थाको सामनापश्चात् यो रेष्टुरेन्ट डुब्यो,’ एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले भनेको छ ।

‘घटनास्थलमा पानीको गहिराइ हजार मिटर भन्दा बढी छ, यसले उद्धार कार्यमा बाधा पुर्याइरहेको छ,’ कम्पनीले जनाएको छ ।उक्त रेष्टुरेन्टले वर्षौंदेखि आर्थिक समस्याहरूको सामना गरिरहेको थियो ।

अपरेटर मेल्को इन्टरनेशनल डेभलपमेन्टले अघिल्लो महिना सन् २०१३ देखि यहाँको व्यापार नाफामा नरहेको र ठूलो घाटा भइरहेको बताएको थियो ।