यौन हिंसामा बालकहरू पनि पीडित छन सबैलाई सम्बोधन हुने गरी कानुन बन्नुपर्छ : सांसद रावल

यौन हिंसामा बालकहरू पनि पीडित छन सबैलाई सम्बोधन हुने गरी कानुन बन्नुपर्छ :  सांसद रावल

नेकपा एमालेका सांसद झपट रावलले बलात्कारको विषयलाई वर्गीकरण गरेर हेर्नुपर्ने बताएका छन। सांसद रावलले विभिन्न उमेर समूह र प्रकृति अनुसार बलात्कारको घटनालाई वर्गीकरण गर्दै सोही अनुरूपको कानुनी व्यवस्था गर्नुपर्ने बताएका हुन ।

उनले यौन हिंसाको घटनामा बालिकाहरू मात्रै नभई बालकहरू पनि पीडित हुने भन्दै पीडित बालकहरूलाई समेत सम्बोधन हुने गरी कानुन बन्नुपर्ने माग राखेका छन।

बलात्कारको घटनामा कडाभन्दा कडा कानुन बनाउनु पर्नेमा अन्य सांसदहरूले पनि जोड दिएका छन् । बुधबार(आज) प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरूले बलात्कारको घटना दिनप्रतिदिन बढिरहेको र पीडितले न्याय नपाउने गरेको उल्लेख गर्दै कडाभन्दा कडा कानुनी व्यवस्था हुनुपर्ने बताएका हुन् ।

समिति बैठकमा ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथि संशोधन हाल्ने सांसदहरूले बलात्कारको घटनामा कानुनी दायरालाई कडाइ गर्नुपर्ने बताएका छन ।