सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका सार्वजनिक स्थलमा धुम्रपान तथा मदिराजन्य निषेधित बोर्ड टाँग्ने

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका सार्वजनिक स्थलमा धुम्रपान तथा मदिराजन्य निषेधित बोर्ड टाँग्ने

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका सार्वजनिक स्थलमा धुम्रपान तथा मदिराजन्य निषेधित बोर्ड टाँग्ने भएको छ । सुर्ती तथा मदिराजन्य पदार्थको सेवनमा कमी ल्याउन प्रदेश सरकारले सार्वजनिक स्थलहरुमा सो बोर्ड टाँग्न लागेको हो ।

प्रादेशिक स्वास्थ्य प्रवर्द्धक केन्द्र कञ्चनपुरले धनगढीमा बुधबार आयोजना गरेको एक समारोहका बीच प्रदेशका सामाजिक राज्यमन्त्री टेकबहादुर रैकाले सो बोर्डको विमोचन गरेका हुन् । केन्द्रका प्रमुख हेमराज खडकाले सो बोर्डहरु सामुदायिक तथा नीजि विद्यालय, सरकारी कार्यालय लगायत सार्वजनिक स्थानमा राखिने बताए । सो अवसरमा बोल्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास राज्यमन्त्री रैकाले समाजमा विद्यमान रहेका विकृति, विसंगति न्यूनीकरणको लागि लागूऔषध प्रयोग रोकथाम तथा नियन्त्रण गर्नुपर्ने बताए । सूर्ती तथा मदिराजन्य पदार्थ रोकथाम तथा नियन्त्रणसम्बन्धी स्वास्थ्य प्रवद्र्धन कार्यक्रममा राज्यमन्त्री रैकाले सूर्ती तथा मदिरालगायत लागू पदार्थ समाजमा नकारात्मक प्रभाव पारिरहेको बताए ।

उनले लागू पदार्थ नियन्त्रणको लागि सुरुमा परिवारका सदस्यहरुबाटै सुधार हुन आवश्यक रहेको बताए । उनले समाजमा सुर्तीजन्य पदार्थले पार्ने असरबारे सचेतनामूलक कार्यक्रमहरु गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले लागू औषध प्रयोगले स्वास्थ्य  साथसाथै आर्थिक, सामाजिक, सँस्कृतिमा पनि नकारात्मक असर पारिरहेको बताए ।

उनले विद्यालयलगायतको सार्वजनिक स्थानमा मदिरा तथा सुर्तीजन्य विक्री वितरणको लागि कुनै पनि पसल सञ्चालन रहेको पाइएमा नियन्त्रणका लागि प्रशासनले तुरुन्तै ‘एक्सन’ लग्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सेती प्रादेशिक अस्पतालका सामाजिक विकास इकाइ प्रमुख गौरीदत्त जोशी, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) प्रतिनिधि डा. प्रमोद भट्ट, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अर्जुन राना भाट, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर जगदिश जोशी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख दयाकृष्ण पन्त, पत्रकार भीम चौधरी, गगन अयडी, वसन्ती सापकोटा, सञ्जु शाहीलगायत मदिराजन्य पदार्थको सेवन र प्रयोगमा कमी ल्याउनमा सबैले एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।