दलित भएकै कारण भक्तपुरमा घरबेटीले कोठा नदिएको भन्दै प्रहरीमा जाहेरी दर्ता

दलित भएकै कारण भक्तपुरमा घरबेटीले कोठा नदिएको भन्दै प्रहरीमा जाहेरी दर्ता

दलित भएकै कारण घरबेटीले कोठा भाडामा नदिएको अर्को घटना बाहिरिएको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका(४ स्थित कविता रायमाझीको घरमा सामान सार्दासार्दै आफू दलित भएको थाहा पाएपछि निकालिएको भन्दै मुना दयाल भनिने सम्झना विश्वकर्माले बिहीबार प्रहरीमा उजुरी दिएकी छन्।

ओखलढुंगाको मोलुङ गाउँपालिका(८ घर भएकी २४ वर्षीया मुनाले दलित भएकै कारण आफूमाथि विभेद भएको बताएकी छन्।

उनका श्रीमान रोजगार सिलसिलामा साउदी अरब बस्दै आएका छन्। छुट्टी मनाउन नेपाल आएका उनी तीन महिनाअघि मात्रै विदेश फर्किएका थिए।

उनीहरूको २०७२ सालमा विवाह भएको थियो। दुई वर्षीया छोरी र सात वर्षीय छोरा छन्। छोराछोरीलाई राम्रो स्कुलमा पढाउने सोचले मुना छ महिनाअघि काठमाडौं आएकी थिइन्।

उनी सुरूमा जुन घरमा बस्थिन्, त्यहाँका घरबेटीले पसल राख्ने भन्दै १५ दिनअघि कोठा छाड्न खबर गरेका थिए।

त्यसपछि उनी नयाँ कोठा खोज्न थालेकी थिइन्।पहिलेका घरबेटीको व्यवहार राम्रै थियो। तर उहाँहरूले पसल राख्न कोठा चाहियो भन्नुभयो। त्यसैले हामी नयाँ कोठा खोज्न थाल्यौं, उनले भनिन्।

मुना आफ्ना ससुरासँग मिलेर कोठा खोज्दै थिइन्। उनका ससुरा उपत्यकामै भए पनि सँगै नबस्ने उनले सुनाइन्।कोठा खोज्ने सिलसिलामा उनी जेठ १६ गते चाँगुनारायण नगरपालिका(४ स्थित रायमाझीको घर पुगिन्। भाडामा कुरा मिलेपछि कोठा दिन उनी सहमत भइन्।

मुनाले जेठ २५ गते दिउँसो करिब २ बजेबाट सामान सार्न थालिन्।उनीहरूले सामान ओसारिरहेका थिए, त्यही बेला छिमेकीसमेत रहेकी विमला क्षत्रीले मुनाका ससुरालाई देखिन्।

घर सरेको दिन थाहा भयो, त्यहाँ हाम्रै गाउँकी विमला क्षत्री भन्ने दिदी बस्नुहुँदो रहेछ। हामीले सामान सारिरहँदा ससुरा पनि आउनुभएको थियो, उनले भनिन्, विमला दिदीले मेरो ससुरालाई चिन्नुभएछ। त्यसपछि उहाँले नै गएर घरबेटीलाई यिनीहरू त कामी हुन् भनेर भनिदिनुभएछ।

मुनाले अगाडि भनिन्, हामीले सामान सार्दासार्दै घरबेटी आएर हाम्रो रायमाझी कुल त कडा छ, रगत छाद्ने समस्या आउँछ, धेरै दुःख हुन्छ, त्यसैले तपाईंहरू यहाँ बस्न मिल्दैन भन्नुभयो।

उनले घरबेटीको व्यवहार र भनाइ उद्धृत गर्दै यो पनि भनिन्, कुटपिट नै त गर्नुभएन तर गाली गर्नुभयो। किन जात ढाँटिस् भन्नुभयो।

त्यति बेलासम्म सामान सबै सारिसकेको हुँदा अर्को कोठा खोज्न १५ दिनको समय दिइएको मुनाले बताइन्। पन्ध्र दिनको भाडा पनि चाहिँदैन भन्नुभयो, उनले भनिन्, हातपात नगरे पनि उहाँहरूले नराम्रो व्यवहार गर्नुभयो।

त्यसपछि मुना नजिकैको प्रहरी कार्यालय पुगिन्। प्रहरीले वडा कार्यालय जानू भने। त्यस दिन ढिला भइसकेकाले उनीहरू यत्तिकै फर्के।पछि वडा कार्यालयमा निवेदन दिन जाँदा वडाध्यक्षले मिलमिलाप गर्नू भन्दै फिर्ता पठाइदिएको मुनाले जानकारी दिइन्।

आफूमाथि भएको जातीय विभेदलाई वडा कार्यालयले सुनुवाइ नगरेपछि उनी बिहीबार जाहेरी लिएर जिल्ला प्रहरी परिसर भक्तपुर पुगेकी थिइन्। त्यहाँ पनि सुरूमा त प्रहरीले जाहेरी लिन आनाकानी गरे। पछि जाहेरी दर्ता भयो।

परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जातीय भेदभाव तथा छुवाछुतअन्तर्गत जाहेरी दर्ता गरेको बताए।पहिले सहमति गरेर सामान सारिसकेपछि जात थाहा पाएकै कारण कोठा दिइएन भन्ने उहाँको जाहेरी दर्ता भएको छ। हामीले अनुसन्धान अघि बढाएका छौं, उनले भने, यसमा अनुसन्धान गरेर अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मात्रै घरबेटीलाई पक्राउ गरिन्छ।

मुनाले यसरी विभेद भोगेको यो पहिलोपटक होइन। गाउँतिर विभेद भोगिरहेकै भए पनि काठमाडौं आएपछि त्यस्तो नहोला भन्ने उनले सोचेकी थिइन्।

गाउँतिर त हुन्थ्यो नै, काठमाडौं आएपछि पहिलोपटक यस्तो भयो। सहरमा पनि जातीय विभेद रहेछ भन्ने थाहा पाएँ,ु उनले भनिन्।

अहिले मुना भक्तपुरबाट काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका(६ स्थित घरमा कोठा सरेकी छन्। यहाँ भने आफूमाथि विभेद नभएको उनले बताइन्।घरबेटी कविता रायमाझी भने आफूले कुनै विभेद नगरेको दाबी गर्छिन्।

मैले उहाँलाई त्यस्तो केही भनेको थिइनँ। अहिले नभएको आरोप आइरहेको छ, उनले भनिन्, उहाँ आफैंले कोठा छाडेर जानुभएको हो।