कैलाली आसपासका केही ठाउँमा भारी वर्षा : सतर्कता अपनाउन आग्रह

कैलाली आसपासका केही ठाउँमा भारी वर्षा : सतर्कता अपनाउन आग्रह

अहिले कैलाली आसपासका केही ठाउँमा भारी वर्षा भइरहेको छ । कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको छ ।

जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यसअघि महाशाखाले कास्कीमा सतर्कता अपनाउन आग्रह गरेको थियो ।

कास्कीमा गएराति भारी वर्षा भएको थियो । कास्कीको लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा अति भारी वर्षा मापन गरिएको छ । आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको थियो ।

यस्तै आज नारायणी र यसका साना सहायक नदीहरुमा जल सतह बढ्नसक्ने, कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ ।

अहिले वाग्मती, प्रदेश-१, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ । प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने सुदूरपश्चिम प्रदेशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

काठमाण्डौमा गएरातिदेखिको वर्षा अहिले रोकिएको छ । मौसमविद् विनु महर्जनका अनुसार अहिले पानी पर्न रोकिएका केही ठाउँमा दिउँसो फेरि पानी पर्ने अनुमान छ । लगातारको वर्षाले बाढी पहिरोको जोखिम बढाएको छ । पहाडी क्षेत्रमा पहिरो तथा नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने हुँदा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।