१५ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी : शिक्षा मन्त्री

१५ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी : शिक्षा मन्त्री

सरकारले असारको दोस्रो साता बितिसक्दा पनि अझै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्या‍उन सकेको छैन।

राष्ट्रिय सभा बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले १५ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी रहेको जानकारी दिए।

उनले भने, ‘जनक शिक्षा सामाग्रिबाट कक्षा ४ देखि १० सम्म १ करोड ९६ लाख थान छपाइ गर्नुपर्नेमा हालसम्म १ करोड ८१ लाख थान छपाइ गरी वितरण भइसकेको छ। निजी प्रकाशनबाट पनि छपाइ तथा वितरणको व्यवस्था मिलाइएको छ।’

शैक्षिकसत्र २०७९ मा विद्यार्थीका लागि निशुल्क पाठ्यपुस्तकको व्यवस्था गर्न कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामाग्रीबाट छपाइ तथा वितरणको व्यवस्था मिलाइएको थियो।

कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक निजी प्रकाशनबाट र अरु कक्षा ११ र १२ को पाठ्यपुस्तक साझा प्रकाशनबाट छपाइ तथा वितरण हुँदै आएको छ।

उनले शिक्षामा १ खर्व ९६ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको र यो बजेट निकै अपुग हुने बताए।