चन्द्रागिरिको जंगलमा फसेका एक अमेरिकी र दुई भारतीयको उद्धार

चन्द्रागिरिको जंगलमा फसेका एक अमेरिकी र दुई भारतीयको उद्धार

चन्द्रागिरि नगरपालिकाको जंगलमा हराएका तीन जना विदेशी नागरिकको प्रहरीले उद्धार गरेको छ। 

शनिबार हाइकिङ गएका तीन जना विदेशी हराएपछि उनीहरूको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

अमेरिका पोर्टोरिकोका ३४ वर्षीय डग्लस रो, भारतको चन्डिगढका ३० वर्षीय नवप्रित डिलोन र मुम्बईका २९ वर्षीय माधव गुप्ताको उद्धार गरिएको हो। 

उनीहरू दिउँसो हाइकिङ गर्न चन्द्रागिरिको जंगलमा पुगेका थिए। राति  पौने ७ बजेसम्म पनि उनीहरू त्यहाँबाट निस्किन सकेका थिएनन्। 

उनीहरूले बाटो बिराएपछि भीरमा गएर फसेका थिए। त्यसपछि उनीहरूले आफ्ना कम्पनीका साथीलाई फोन गरेर जानकारी गराएका थिए। उनका साथीहरूले प्रहरी प्रभाग सानेपा, ललितपुरमा खबर गरेपछि प्रहरी वृत्त थानकोटलाई पनि खबर भएको थियो। 

त्यसपछि थानकोटबाट उद्धारकर्मीको टोली खटिएको थियो। प्रहरी उपरीक्षक मैनालीका अनुसार टर्च, डोरी, स्ट्रेचर लगायतका सामग्रीसहित १० जनाको टोली परिचालन गरिएको थियो।

प्रहरीले हराएका व्यक्तिहरूसँग सम्पर्क गरी लोकेसन पत्ता लगाएको थियो। उनीहरू थानकोटबाट करिब ७ किलोमिटर माथि जंगलको थानकोट(चित्लाङ सडकखण्ड नजिकै फेला परेका थिए। उनीहरू सडकबाट १०० मिटर तल भीरमा फसेका थिए। 

उनीहरू त्यहाँबाट निस्किन नसकेपछि प्रहरीलाई खबर गरेका थिए। करिब ८ बजे उनीहरूको उद्धार गरेको हो।