बैतडी कारागारको क्षमता तेब्बर कैदीबन्दी व्यावस्थापनामा सास्ती

बैतडी कारागारको क्षमता तेब्बर कैदीबन्दी व्यावस्थापनामा सास्ती

बैतडी : बैतडीको जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको पाइएको छ। अनौपचारिक सेवा केन्द्र(इन्सेक)ले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ। 

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक समीक्षा गोष्ठीमा सार्वजनिक भएको सो प्रतिवेदनमा कारागारमा कैदी र थूनुवा गरी क्षमताभन्दा तेब्बर रहेका जानकारी गराइएको थियो। २५ जना क्षमता रहेको कारागारमा अहिले ८७ जना छन्। 

यस्तै जिल्लाका केही विद्यालयमा अझै पनि विद्यार्थीहरुले पाठ्यपुस्तकहरु नपाएका प्रतिवेदनमा उल्लेख गरिएको छ। जिल्लाका स्वास्थ्यसंस्थाहरुमा औजार उपकरण र आवश्यक पूर्वाधाहरु पनि प्रयाप्त मात्रामा नभएको प्रदिवेदनले देखाएको छ। सरकारले निःशुल्क गरेका सबै औषधिहरु पनि जिल्लाका स्वास्थ्य संस्थामा उपलब्ध छैनन्।

जिल्लामा यो वर्षको अहिलेसम्म ३ बालिका बलात्कृत भएका र १ बालिकाले यौन दुव्र्यवहार भोग्नु परेको पनि प्रदिवेनमा छ। यस्तै ४ महिला बलात्कृत भएका र १ महिलाको परिवारबाटै हत्या भएको जनाइएको छ। यस्तै २ महिला बहुविवाह र १९ महिला घरेलु हिंसाबाट पीडित भएको तथ्याङ्क इन्सेकले सार्वजनीक गरेका छ। 

जिल्लास्थित सरोकारवाला निकायबीच भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जिल्ला कारागारको भवनको लागि आफुले माथिल्लो निकाएमा पहल गर्ने विश्वास दिलाएका थिए। यस्तै सडक सुविधा नभएको कारागारमा सडक पुगाउनको लागि नापजाँच पनि भएको उनको भनाई थियो। विद्यार्थीले पुस्तक नपाएको विषयमा पनि आफुले बुझेर समाधानको प्रयास गर्ने उनको भनाई थियो।