नेपालभर पहिलो पटक भोजपुरी फिल्म 'रण' प्रदर्शन हुने

नेपालभर पहिलो पटक भोजपुरी फिल्म 'रण' प्रदर्शन हुने

नेपालभरका फिल्म हलमा पहिलो पटक भोजपुरी फिल्म प्रदर्शन हुने भएको छ। नेपाली निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको भोजपुरी फिल्म ‘रण’ले तीन दर्जन बढी हलहरूबाट नेपाल प्रदर्शनको सुरुआत गर्न लागेको हो।

काठमाडौंसँगै मोफसलका विभिन्न ४० बढी हलहरूमा आउँदो शुक्रबारबाट ‘रण’ प्रदर्शनमा आउने निर्देशक पन्तले बताए। ‘काठमाडौंका केही मल्टिप्लेक्ससँग कुरा भइरहेको छ, तर विश्वज्योति मल्टिप्लेक्समा लाग्ने पक्का भइसकेको छ,’ उनले भने।

फिल्मले मुख्यतः तराई मधेश केन्द्रीत हलहरूमा बलियो उपस्थिति जनाउने र दर्शकको आकर्षण बढाउने निर्माण टिमको विश्वास छ। यो फिल्म यसअघि भारतको बिहारमा प्रदर्शन भइसकेको छ भने शुक्रबारबाट नेपाल र भारतको मुम्बई र गुजरातमा प्रदर्शन हुनेछ। एक्सन प्रधान फिल्ममा नेपाली कलाकार तथा प्राविधिक समेत आवद्ध छन्।

‘रण’बाट नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा डेब्यू गरेका छन्। उनको भोजपुरी अवतार ट्रेलरबाट नै प्रष्ट देखिइसकेको छ। यो फिल्ममा नरेनसँगै आन्नद ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्र मुख्य अभिनयमा छन्। निर्देशक पन्तको कथा लेखनमा अरुणकुमार मिश्रले फिल्म निर्माण गरेका हुन्।

यो फिल्ममा नेपालबाट अर्जुन जिसी सम्पादनमा जोडिएका छन् भने टिजर सम्पादन मित्र डि गुरुङ र ट्रेलर सम्पादन शाहिल खानले गरेका छन्। नेपाली कोरियोग्राफर रामजी लामिछाने र गम्भिर विष्टले पनि फिल्ममा स्थान लिएका छन्।