संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोली दार्चुलामा

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोली दार्चुलामा

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले दार्चुला पुगेर अन्तक्र्रिया, छलफल गरेको छ । सोमवार त्रिदेशीय सीमानामा रहेको दार्चुला जिल्लामा सीमा क्षेत्रको अवस्था र पर्यटन क्षेत्रको सम्भावना, अध्ययनका विषयमा छलफल गरेको हो । टोली खासगरी सुदूरपश्चिम प्रदेशका दार्चुलासहित अन्य ५ जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुको अध्ययन अवलोकन भ्रमण आएको समितिले जनाएको छ ।

समितिका सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा ४ जना सांसदहरुको टोलीले दार्चुला जिल्लाको सीमा क्षेत्रको पूर्वाधार, पर्यटकीय क्षेत्रको सम्भावना तथा सुरक्षा अवस्थाको बारेमा जिल्लास्थित राजनैतिक दल, पत्रकार, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेको हो । खासगरी जिल्लाका धार्मिक, पर्यटकीय स्थलहरुको समेत अध्ययन, अनुगमन गरेर सरोकारवालाहरुसँग छलफलमार्फत सुझाव सङ्कलन गरी सरकारलाई बुझाइने सभापति खरेलले बताइन् । 

टोलीलाई जिल्लाका सरोकारवालाहरुले नेपालको सामरिक महत्वको भूभाग व्याँस क्षेत्रलाई विशेष महत्व दिनुपर्ने, आफ्नै भूमि भएर आवतजावत गर्न दार्चुला तिंकर सडकलाई तीव्रता दिनुपर्ने, सीमा क्षेत्रका समस्या समाधानका लागि आवश्यक कुटनीतिक पहल अघि बढाउन, सुरक्षा उपस्थितिका लागि पूर्वाधार निर्माण गर्न, धार्मिक क्षेत्रको विकास गर्न, गोकुलेश्वर विमानस्थल संचालनमा ल्याउनका लागि पहल गरिदिन सुझाव दिएका छन् ।

छलफलमा उठेका यी यावत विषयलाई समेटेर प्रतिवेदन तयार पारी सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाइने सभापति खरेलले बताए । टोलिमा उपसमिति संयोजक दीपक प्रकाश भट्ट, सदस्य रेनुका गुरुङ, सरलाकुमारी यादव सहभागि थिए ।