धान दिवसको अवसरमा प्रधानमन्त्री देउवाद्धारा शुभकामना व्यक्त

धान दिवसको अवसरमा प्रधानमन्त्री देउवाद्धारा शुभकामना व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा धानको उत्पादनमा वृद्धि भई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिएका छन्। धान दिवसको अवसरमा शुभकामना दिँदै उनले धान बालीको उत्पादन वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने अपेक्षा राखेका हुन्।
‘तराई, पहाड र हिमालमा पाइने रैथाने प्रकृतिका धानको जातहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन मार्फत् नेपालमा धान चामलको उत्पादनमा वृद्धि भई धान चामलमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिएको छु।’ शुभकामना सन्देशमा भनिएको छ, ‘आज मनाउन लागिएको उन्नाइसौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७९ ले धान बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने अपेक्षा सहित सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु।’
परापूर्वकालदेखि नै नेपाली समाजमा आर्थिक, सामाजिक र साँस्कृतिक महत्त्व बोकेको धान तथा धान खेती नेपाली समाजको अभिन्न जीवन पद्धतिको रूपमा रहेको सन्देशमा उल्लेख छ। धान बालीले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिनुका साथै खाद्य सुरक्षाको दृष्टिले समेत सर्वोपरि स्थान ओगटेको देउवाको भनाई छ। खाद्य पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने राष्ट्रिय प्रतिबद्धता समेत रहेको सन्देशमा उल्लेख छ।
 ‘नेपालको संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। उक्त हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ समेत जारी गरिसकिएको छ। भोकमरीको अन्त्य गर्ने लगायतका दिगो विकासका लक्ष्यहरू प्राप्ति गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयन मार्फत खाद्य पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने हाम्रो राष्ट्रिय प्रतिबद्धता समेत रहेको छ’देउवाले भनेका छन्।
चामलका निम्ति वर्षेनी ठूलो धनराशि धान चामल आयातमा खर्चिनु परेको वर्तमान अवस्थालाई मध्यनजर गरी नेपाल सरकारले प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धानको उत्पादन वृद्धि गरी देशमा दिगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखी विभिन्न नीति तथा योजनाहरू कार्यान्वयनमा ल्याएको जनाइएको छ। 
‘सिँचाइ सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ तथा मलखादको व्यवस्था, प्रविधि विस्तार, न्यूनतम मल्यको कार्यान्वयन।बाली बीमा प्रवर्द्धन लगायतका विषयमा सरकारले काम गर्दै आएको छ।’ शुभकामना सन्देशमा भनिएको छ, ‘धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै आयात प्रतिस्थापन गर्न सरकारले व्यावसायिक कृषि विकास कार्यक्रमहरूको कार्यान्वयन तथा जलवायु अनुकूलित, पोषणयुक्त धान, उच्च उत्पादन हुने जातहरूको विकास तथा उपयोग बढाउने रणनीति लिँदै आएको छ।’ तराई, पहाड र हिमालमा पाइने रैथाने प्रकृतिका धानको जातहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उनको भनाई छ।

देउवाले यस वर्ष जैविक विविधता वर्ष मनाउने घोषणा नेपाल सरकारबाट भइसकेको स्मरण गरे।