विभिन्न वडा कार्यालयहरुमा बेरोजगार फारम भर्नेहरुको भीड

विभिन्न वडा कार्यालयहरुमा बेरोजगार फारम भर्नेहरुको भीड

धनगढी : आन्तरिक रोजगारी सिर्जना गरी १८ देखि ५९ वर्षभित्रका बेरोजगार नागरिकलाई न्यूनतम रोजगारीको सुनिश्चित गर्न सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लागु गरे पछि अहिले विभिन्न वडा कार्यालयहरुमा फारम भर्न वेरोजगार व्यक्तिहरुको भिड लागेको छ । 

सरकारले सञ्चालन गरेको यस कार्यक्रमले बेराजगार युवाहरुलाई आत्मनिर्भर हुन महत्वपूर्ण भुमिका खेल्ने उनीहरुले बताएका छन । बुधबार बिहान धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ को कार्यालयमा भेटिनुभएकी डम्मरुले आफु पहिले दैनिक ज्यालादारीमा मजदुरी गर्दै आएको र हाल सरकारले रोजगारी दिने भए पछि आफु वडा कार्यालयमा आएर आफु सहित परिवारका सदस्यहरुको समेत फाराम भरेको बताइन् ।

सरकारले यो कार्यक्रम ल्याएकोमा आफू जस्ता बेरोजगार व्यक्तिहरु खुशी भएको बताइन् । उनी मात्र होइन उनी जस्ता धेरै वेरोजगार व्यक्तिहरु आ आफ्नो वडा कार्यालयमा वेरोजगारको फर्म भर्न लाइनमा बसेका छन । सरकारले बेरोजगार व्यक्तिहरुलाई रोजगार दिने कार्यक्रम ल्याउदाँ आफु जस्ता धेरै महिलाहरु खुशी भएको धनगढी उपमहानगरपालिका वडा नम्बर एक बस्ने बिस्ना देबी दमाइले बताइन् ।

सरकारले रोजगारी नपाउने बेरोजगार नागरिकलाई वर्षमा न्यूनतम २२ हजार ४ सय १७ रुपैयाँ निर्वाह भत्ता दिनेछ । स्थानीय तहबाट सञ्चालित सार्वजनिक निर्माण क्षेत्रका आयोजनामा रोजगार उपलब्ध गराउने धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र बहादुर महराले बताए ।

धनगढी उपमहानगरपालिका को वडा नम्बर एक मा बुधबार सम्म २७ जना बेरोजगार व्यक्तिहरुले फारम भरि सकेको वडा नम्बर एक का वडा अध्यक्ष सन्तोष मुड्भरीले बताए । आफ्नो क्षेत्रभित्रका सडक, खानेपानी, ढल व्यवस्थापन, सिँचाइ, ऊर्जा, सहरी विकास, शिक्षा, स्वास्थ्य, पुनर्निर्माण, पर्यटन, वन, सामुदायिक पूर्वाधार, कृषि तथा सहकारी, सूचना प्रविधि, वातावरण संरक्षण तथा जलवायु अनुकूलनमा रोजगारी सिर्जना हुनेछ ।

सार्वजनिक निर्माणका क्षेत्रबाहेक निजी, सहकारी तथा गैरसरकारी क्षेत्रमा समेत सम्बन्धित क्षेत्रसँगको सहकार्यमा रोजगारीको सिर्जना गरी न्यूनतम रोजगारीको सुनिश्चितता गरिने उनले बताए । सम्पुर्ण वेरोजगार व्यक्तिहरुलाई आ आफ्नो वडामा गएर फर्म भर्न वडा कार्यालयले आग्रह गरेका छन ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत योग्यता र क्षमता अनुसारको न्युनतम रोजगारी दिइने र दिन नसके निर्वाह भत्ताका रुपमा केही रकम समेत दिने घोषणा गरेको छ ।