एक जर्मन अदालतले १०१ वर्षीय पूर्व नाजी यातना शिविरका गार्डलाई पाँच वर्षको जेल सजाय सुनाएको छ । ती व्यक्ति होलोकास्ट९दोस्रो विश्वयुद्धको समयमा नाजीले मच्चाएको नरसंहार जसमा विशेषत यहुदीहरुलाई छानीछानी मारिएको थियो ,को समयमा युद्ध अपराधमा संलग्नताको लागि मुद्दा चलाइने सबैभन्दा वृद्ध व्यक्ति भएका छन् ।
सन् १९४२ र १९४५ को बीचमा बर्लिनको उत्तरी भाग ओरानिनबर्गमा रहेको साचसेनहाउसेन क्याम्पमा जेल गार्डको रूपमा काम गर्दा जोसेफ शुएजले हत्यामा सघाएको आरोपमा दोषी ठहर गरिएको हो । अहिले ब्रान्डेनबर्ग राज्यमा बस्दै आएका शुयजले आफू निर्दोष भएको दावी गरेका थिए । उनले आफू गार्ड रहेको शिविरमा हुने गरेको घृणित अपराधको बारेमा थाहा नभएको तर्क दिएका थिए ।
मलाई यहाँ किन उभ्याइएको छ मैले बुझिरहेको छैन,’ उनले सोमबार आफ्नो मुद्दाको अन्त्यमा भने । तर अभियोजकहरूले भने उनले ‘जानेर र स्वेच्छाले’ शिविरभित्रका ३५१८ कैदीको हत्यामा भाग लिएको बताउदै पाँच वर्ष कैद सजायको माग गरेका थिए ।
गत वर्ष अक्टोबरमा सुरुवाती सुनुवाइमा शुएजले अदालतमा उठाइएको अवधिमा आफू उत्तरपूर्वी जर्मनीको पासवाकनजिकै खेतमा कृषि श्रमिकको रुपमा कामरत रहेको बताएका थिए । यद्यपि, अदालतले भने सुएज सन् १९४२ देखि सन् १९४५ बीचमा बर्लिनको बाहिरी भागमा रहेको शिविरमा नाजी पार्टीको अर्धसैनिक शाखाको सूचीकृत सदस्यको रूपमा काम गरेको प्रमाण रहेको बताएको थियो ।
वकिलहरुले मुद्दामा एसएस गार्डहरुको नाम, जन्म मिती, जन्मस्थान लेखिएका कागजातहरु पेस गरेका थिए । दस्तावेज अनुसार सुएजले कन्सर्नट्रेसन क्याम्पको काम सुरु गर्दा २१ वर्षका थिए । तर हालको सुएजको उमेरलाई ध्यानमा राख्दै उनले जेलमा बस्नुपर्ने सम्भावना भने कम छ ।
धेरै उमेर भएकाले मुद्दाको सुनुवाइका क्रममा पनि उनलाई केही सहुलियत दिइएको थियो । उनलाई दिनमा अढाई घण्टाभन्दा बढि सुनुवाईमा राखिदैनथ्यो । त्यस्तै सुनुवाईस्थल समेत सुएज बस्ने सहरको व्यायामगृहमा राखिएको थियो।
साचसेनहाउसेन क्याम्पमा सन् १९३६ मा बर्लिनको उत्तरमा पहिलो पटक खोलिएको थियो । त्यसबेलासम्म एडोल्फ हिटलरले नाजी पार्टीको राजनीतिक सेना एसएसलाई नाजी कन्सनट्रेसन शिविर प्रणालीको पूर्ण नियन्त्रण दिइसकेका थिए ।
नाजीले यो क्याम्पलाई जर्मनी, अस्ट्रिया र अन्य नियन्त्रित भूभागमा निर्माण गरिएका अन्य क्याम्प सन्जालका लागि उदारणीय बनाउने हिसाबले तयार गरेको थियो ।
सन् १९३६ र १९४५ बीचमा क्याम्पमा २००,००० भन्दा बढी मानिसहरू त्यहाँ राखिएको थियो । तीमध्ये दशौं हजार कैदीहरू भोकमरी, रोग, कठोर श्रम र अन्य कारणहरूका साथै चिकित्सा प्रयोग र नियतबस मारिए ।
एसएसले कैदीलाई मार्नको लागि गोली हान्ने, झुण्ड्याउने र ग्यासमा निसासेर माथ्र्यो ।
साचसेनहाउसेन क्याम्पलाई सन् १९४५ अप्रिलमा नाजीहरुलाई हराउदै अघि बढेको सोभियत सेनाले मुक्त गरेको थियो । जर्मनीका अदालतले पछिल्लो समय नाजी क्याम्प संचालनमा जुनसुकै हिस्सामा काम गर्ने व्यक्तिलाई पनि दोषी ठहर गर्न सक्ने कानुनी नजिर पछ्याउन थालेका छन् । मङ्गलबारको फैसलाले पनि सोही नजिरलाई पछ्याएको थियो ।