दार्चुलामा प्रहरीद्वारा उजुरी दिने व्यक्ति माथिनै निर्घात कुटपिट

दार्चुलामा प्रहरीद्वारा उजुरी दिने व्यक्ति माथिनै निर्घात कुटपिट

दार्चुला । दार्चुलामा उजुरी दिने व्यक्ति नै प्रहरीबाट कुटिन पुगेका छन् । न्यायका लागि दार्चुलाको गोकुलेश्वर प्रहरीमा उजुरी दिने बैतडीको दोगडाकेदार गाउँपालिका–६ बैतडीका चक्र सिंह कार्की माथि प्रहरीले निर्घात कुटपिट गरेको हो । 

दार्चुलाको गोकुलेश्वरस्थित प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक सुरज बहादुर सिंहले र उनको कमाण्डमा रहेको टोलीले उनी माथि निर्घात कुटपिट गरेको हो । 

कार्कीले असार २८ गते आफ्नी पत्नीलाई र सोही ठाउँ बस्ने एक जना व्यक्तिसँग एकान्तमा भेटेपछि उनीहरूका विरुद्ध गोकुलेश्वरस्थित प्रहरी चौकीमा उजुरी दिएका थिए । तर प्रहरीले कार्कीकी पत्नी र उनीसँग भेटिएका व्यक्तिलाई सोही साँझ छोडे पनि कार्कीलाई भने रातभरि थुनुवा कक्षमा राखी निर्घात कुटपिट गरेको कार्कीका दाइ भीम सिंह कार्कीले जानकारी दिए । 

दार्चुलाको शैल्यशिखर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख समेत रहेका कार्कीको शरीरका विभिन्न भागमा निल डाम छन् । 

उजुरी दिने व्यक्तिमाथि नै प्रहरीले कुटपिट गरेपछि सयौँको सङ्ख्यामा गएका स्थानीय बासिन्दाले आज प्रहरी चौकी समेत घेराउ गरेका थिए ।

स्थानीय बासिन्दाका अनुसार प्रहरी निरीक्षक सिंहले स्थानीयसँग कतिखेर आफूबाट गल्ती भएको बताउने गरेका छन् भने कतिखेर जे गर्न सक्छौ गर, अदालत जाऊ भनेर धम्क्याउने गरेका छन् । 

यता प्रहरी निरीक्षक सिंहले भने आफ्नो चौकीमा कुनै घटना नभएको बताउँदै पन्छिन खोजेका छन् । 

पीडित कार्कीले भने छलफल भइरहेको त्यतिन्जेल बाहिर खबर नगन समेत भनिएको आशय व्यक्त गरेका छन् ।