कैलालीमा एक वर्षमा १ हजार ६ सय ६४ मुद्दा फर्छ्यौट, सबैभन्दा बढी सम्बन्ध विच्छेदका

कैलालीमा एक वर्षमा १ हजार ६ सय ६४ मुद्दा फर्छ्यौट, सबैभन्दा बढी सम्बन्ध विच्छेदका

धनगढी । कैलालीमा आर्थिक वर्ष २०७८/२०७९ मा एक हजार छ सय ६४ मुद्दा फर्छ्यौट भएका छन् । अघिल्लो वर्षका जिम्मेवारी सरिआएका लगत मुद्दा सहित तिन हजार ८८ मुद्दा मध्ये उक्त सङ्ख्यामा मुद्दा फर्छ्यौट भएका हुन् । भने एक हजार चार सय २४ मुद्दा फर्छ्यौट हुन बाँकी रहेका छन् । 

जिल्ला अदालत कैलालीका मुख्य न्यायाधीश जयानन्द पनेरुका अनुसार अघिल्लो वर्षका जिम्मेवारी सरिआएका जम्मा लगत मुद्धाहरु एक हजार १३ रहेकोमा सात सय ६२ फर्छ्यौट भएका थिए । जसमा दुई सय ५१ बाँकी रहेका थिए । यस वर्ष नयाँ दर्ता भएका मुद्धाहरु दुई हजार ७५ रहेको मा नौ सय दुई फर्छ्यौट भएका थिए । भने एक हजार एक सय ७३ मुद्दा बाँकी रहेका छन् । 

मुख्य न्यायाधीश पनेरुका अनुसार लगत मुद्धाहरुमा जबरजस्ती करणी सम्धीका दुई सय पाँच मुद्दा मध्ये ७३ मुद्दा फर्छ्यौट भएका छन् । भने एक सय ३२ बाँकी रहेका छन् । 

यस्तै, लागु औषध सम्बन्धी दुई सय २९ मुद्दा मध्ये ५४ वटा मुद्दा फर्छ्यौट भएका छन् । भने एक सय ७५ बाँकी रहेका छन् । लागु औषधका घटना तथा मुद्दाको प्रकृति हेर्दा अभिवाकको रेखदेखमा कमी, विद्यालयमा उच्च शिक्षा नमिल्नु र बालबालिका सँग वृद्ध वृद्धा नखेल्ने तथा बालबालिका र वृद्ध वृद्धा पनि सामाजिक सञ्जाल डिजिटल गेम मै बढी बस्नाले यी घटना बढ्ने गरेको मुख्य न्यायाधीश पनेरुले बताए । यसमा नियामक निकायको भूमिका कत्तिको कडाइका साथ लागु भएको छ भन्ने कुराले पनि महत्त्व राख्ने बताउँदै पनेरुले कैलाली जिल्लामा एक व्यक्ति बाट लागु औषध बढी जसो १० ग्राम भन्दा कम बरामद भएको र सबै भन्दा बढी ३० ग्राम बरामद भएको बताए । 

यस्तै, कर्तव्य ज्यान सम्बन्धीका २२ मुद्दा मध्ये १३ फर्छ्यौट भएका छन् । भने नौ फर्छ्यौट हुन बाँकी रहेका छन् । 

यसका साथै, जिल्लामा सबैभन्दा बढी मुद्दा दर्ता सम्बन्ध विच्छेदका रहेका छन् । सम्बन्ध विच्छेदका पाँच सय ५० मुद्दा मध्ये एक सय ६९ मुद्दा फर्छ्यौट भएकोमा फर्छ्यौट  हुन बाँकी तिन सय ८१ मुद्दा रहेको मुख्य न्यायाधीश पनेरुले बताए । यी घटनाहरूको प्रकृति हेर्दा कयौँ घटनामा श्रीमान् विदेश जाँदा श्रीमती परपुरुष सँग लागेर सबै विदेश बाट पठाएको पैसा खर्च गरिदिनु, श्रीमानले मादक पदार्थ सेवन गरी झैँ झगडा गर्ने र श्रीमती तथा बाबच्चाहरुलाई पिट्ने र यी घटना बढ्नुमा सामाजिक सञ्जालको दुरुपयोग पनि मुख्य रहेको मुख्य न्यायाधीश पनेरुको भनाइ रहेको छ । 

कैलाली जिल्लामा आर्थिक वर्ष  २०७८/२०७९ मा चेक अनादरका मुद्दा दुई सय ९१ रहेको मा एक सय ६१ फर्छ्यौट भएका छन् भने एक सय ३० फर्छ्यौट हुन बाँकी रहेका छन् । चेक अनादर मुद्दा बढ्नुमा भने कानुन खुकुलो हुँदा मनोमानी ढङ्गले चाहे जतिको रकम अन्दाधुन्द दिनु रहेको मुख्य न्यायाधीश पनेरुको भनाई रहेको छ । पनेरुका अनुसार बालबालिका संलग्न मुद्दा एक सय ४१ रहेकोमा ६३ फर्छ्यौट भएका छन् भने ७८ बाँकी रहेका छन् ।

अदालतमा कार्यसम्पादन ढिला हुने गुनासो लाई सम्बोधन गर्दै मुख्य न्यायाधीश पनेरुले उक्त गुनासो जायज रहेको तर ढिला सुस्ती हुनुमा अदालतका कर्मचारीहरूको दोष नभएको स्पष्ट पार्दै कानुनले पक्रियामा जाँदा उक्त समय लाग्ने गरेको बताए । “अदालतमा मुद्दा प्रवेश गरेपछि फर्छ्यौट हुन समय लाग्छ भन्नु स्वाभाविक हो । तर त्यो यताका कर्मचारी भन्दा पनि कानुनी प्रक्रिया अनुरूप जाँदा दुवै पक्षलाई अनुसन्धान तथा प्रमाण सङ्कलन गर्न समय दिनुपर्ने, अदालतमा उपस्थित हुन दिनुपर्ने जस्ता कानुनी प्रक्रिया पालना गर्नु पर्ने भएकोले उक्त समय लागेको हो ।”

यी मुद्दा तथा घटनामा कमी ल्याउन सरोकारवाला नियामक सम्बन्धित निकायहरू को आवश्यक समन्वय भए मात्रै सम्भव हुने हुँदा सबैले आफ्नो जिम्मेवारी ईमान्दार भएर बहन गर्नु पर्ने मुख्य न्यायाधीश पनेरुको भनाइ रहेको छ ।