नेपाल नामिबियासँग ६३ रनले पराजित

नेपाल नामिबियासँग ६३ रनले पराजित

आईसीसी विश्वकप लिग टू त्रिकोणात्मक सिरिजमा नेपाल फेरि नामिबियासँग पराजित भएको छ। स्कटल्याण्डको एयरमा शनिबार राति नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो।

नामिबियाले दिएको २०० रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रनमा अलआउट भयो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए।  यस्तै आसिफ शेखले ३४ रन जोड्दा आदील आलमले २० रन बनाए। रोहित पौडेलले १७ र पवन सर्राफ १० रनमा अविजित रहे।

कुशल भुर्तेल, कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले खाता खोल्न सकेनन्। नामिबियाका बेर्नार्ड स्कोल्ट्जले ५ विकेट लिए। जान फ्राईलिंकले ३ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनाएको थियो। नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले।

नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए। सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिदा बसिर अहमेदले १ विकेट लिए। सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो।

सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेलमा आइतबार (आज) स्कटल्याण्डविरुद्ध खेल्दैछन। सिरिजको पहिलो भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो।