२७ बर्ष सम्म बनेन् डोटीको बसपार्क

२७ बर्ष सम्म बनेन् डोटीको बसपार्क

डोटी । डोटीको दिपायलमा दिपायल सिलगढी नगरपालिकाले २७ बर्ष अगाडि बसपार्क  बनाउने भनेर ५ रोपनी जग्गा खरीद गरेको थियो । तर २७ बर्ष  बितिसक्दा पनि बसपार्क निर्माण गर्नेमा नगरपालिका आफै अन्योलमा परेको छ । 

नगरपालिकाले बसपार्क बनाउनका लागी खरीद गरेको जग्गा अहिले गौचरण परिणत भएको छ । २०५२ सालमा नगरपालिकाले १ लाख ९० हजारमा स्थानियबाट जग्गा खरीद गरेको थियो । जसको मुल्य त्यसबेला प्रति रोपनी ३८ हजार थियो ।  
नगरपालिकाले बसपार्क बनाउने भनेर चारै तिरबाट घेरबार समेत लगायो ।  त्यस बेला बसपार्क बनाउनका लागी नगरपालिका अनुमानित ८ लाख ९० हजार खर्च समेत गरेको नगरपालिकाका कर्मचारी तेजराज भट्टले बताए । 

अहिले डोटीमा बसपार्कको समस्याले गर्दा बजारमा नै गाडीहरु पार्किङ हुने गरेका छन् । बजारमा गाडीहरुले पार्किङ गर्दा व्यवसायमा समस्या भएको व्यापारीहरुको गुनासो छ ।

अब कहाँ बन्छ बसपार्क ?  
दिपायल सिलगढी नगरपालिकाकाका नगरप्रमुख बाजीसिंह खड्काका अनुसार सोही ठाउँमा बसपार्कको बनाउनका लागि ५ रोपनी जग्गाले नपुग्ने भएपछि उक्त ठाउँमा बसपार्क नबन्ने भएको छ । 

नगरपालिकाले बसपार्क बनाउनका लागी जग्गा हेरफेर गर्दैछौं, राजपुरमा नगरबिकास जग्गामा बषपार्क बनाउने भनेर डिपीआर भैसकेको नगर प्रमुख खड्काले बताए । डिपीआर भए पनि राजपुरमा बसपार्क बनाउने  कुरामा पनि अन्यौल नै भएको छ । राजपुरमा सबैलाई पाएक नपर्ने भएकाले अलि गारो  भएको छ । 

उता सेती नदीको किनारमा भएको जमिनको पनि कुरा चलि रहेको छ ।  सबै कुरा मिले पछि नगरपालिकाले जमिन खरिद गरेर त्यहीँ बसपार्क बनाउँछ । तर त्यता बसपार्क बनाउँदा केही चुनौतीहरु छन् । नजिकै भएको दिल्पेश्वर माध्यामिक बिद्यालयलाई  व्यवस्थापन र जग्गा धनीसँग कुरा गर्दैछौं ।