डोटीमा घरेलु काममा प्रयोग भएको एम्बुलेन्स दुर्घटना

डोटीमा घरेलु काममा प्रयोग भएको एम्बुलेन्स दुर्घटना

डोटी । डोटीमा बिरामी बोक्न प्रयोग हुँदै आएको एम्बुलेन्स घरेलु काममा प्रयोग भएको पाइएको छ। डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर १ बर्छैन स्वास्थ्य चौकीको एम्बुलेन्स गत बिहीबार राती १० बजे चालक तेज बोहराले आफ्नै काका पुष्कर बोहरालाई घर पुर्याउने समयमा वीपीनगरको सोखानमा दुर्घटना भएको हो।

स्थानीयले भने गैरचालकले मदिरा सेवन गरेर एम्बुलेन्स चलाउँदा दुर्घटना भएको भन्दै छानविनको माग गरेका छन्। वीपीनगर बजारबाट माथि काकालाई बोकेर घर जाने बेला रातीको समयमा सडकमा जनावर आएर बाटो छेकेपछि दुर्घटना भएको एम्बुलेन्स चालक बोहराको दाबी छ। ‘काका र म घर जाँदै थिए, मदिरा सेवन पनि गरेको थिएन, काकाले होइन म आफैले एम्बुलेन्स चलाएको थिए,’ उनले भने।

एम्बुलेन्सको बीमा नवीकरण समेत नभएको अवस्थामा काकालाई बोकेर रातीको समयमा घरायसी प्रयोजनमा सो एम्बुलेन्स प्रयोग भएको देखिएको स्थानीय बताउँछन्। तर वडा नम्वर १ का वडा अध्यक्ष डम्बरबहादुर बोहराले दुर्घटना हुनै नसक्ने स्थानमा दुर्घटना भएकाले यसको वास्तविकता चालकलाई नै जानकारी हुने बताउँछन्। ‘जनावर आएर दुर्घटना भएको चालकको दाबी छ, चालक आफैले एम्बुलेन्स चलाएको भन्ने दाबी छ, वास्ताविकता बुझ्नै बाँकी छ।’

स्थानीयले भने जनप्रतिनिधिकै संलग्नतामा एम्बुलेन्स गैरचालकले चलाएर दुर्घटना भएकाले सत्यतथ्य छानविन गर्न माग गरेका छन्। चालक बोहरा र एम्बुलेन्समा सवारी उनका काका सकुसल भएपनि एम्बुलेन्स क्षतविक्षत अवस्थामा मर्मतका लागि ग्यारेजमा राखिएको छ। 
यस बारेमा धनगढी खबरले बर्छैन स्वास्थ्य चौकीकी प्रमुख अन्जना चन्दाले यस बारे आफुलाई धेरै जानकारी नभएको बताएकी छिन ।