गोपाल हमालमार्फत धनगढीले राष्ट्रलाई दिएको सन्देश

गोपाल हमालमार्फत धनगढीले राष्ट्रलाई दिएको सन्देश

डा. लोक भट्टराई : यसपालिको स्थानीय चुनावमा पार्टीदेखि अलग रहेर स्वतन्त्र उम्मेदवारी दिनेहरूले राम्रै संख्यामा जिते । पार्टीदेखि निराश जनताले प्रतिक्रियास्वरूप दिएको मतले नै हर्क साम्पाङ, बालेन शाह र गोपाल हमालहरूले चुनाव जिते भनेर सतही तर्क गर्नेहरू पनि छन् । त्यसमध्ये पनि मेरो विचारमा चाहिँ सुदूरपश्चिमको धनगढी उपमहानगरको मेयरमा गोपाल हमालको जित विशेष महत्त्वको देखिएको छ ।

धनगढीका हमाल यसअघि साझा विवेकशील पार्टीको क्षेत्रीय संयोजक भएर काम गरिसकेका व्यक्ति हुन् । र, त्यसैले तर्क गर्नेहरू भन्छन, उनी साझा विवेकशीलको उम्मेदवार भएर उठेको भए उनलाई यस्तो सफलता मिल्दैनथ्यो । त्यो स्कुलिङका मान्छेहरूले केसम्म भनेका छन् भने काठमाडौंमा समेत साझा विवेकशीलको उम्मेदवार बन्नुको साटो त्यो पार्टी छोडेर स्वतन्त्र भएर लडेको भए समीक्षा बाँस्कोटाको पनि बालेन शाहसँग कडा टक्कर पर्ने थियो ।

मेरो विचारमा यस्तो तर्क भनेको जनताको परिवर्तन-चेत, जनताको चाहना र तिनको हेर्ने दृष्टिकोणमा आएको परिवर्तनलाई नबुझ्नुको परिणाम हो । खासमा जनताले पार्टी नै नचाहेको चाहिँ हैन, पार्टीले राम्रो काम नगरेकोमा विरोध हो । पार्टीले राम्रो उम्मेदवार नदिएकोमा विरोध हो । त्यो कुरा त सुनिता डंगोलले काठमाडौंमा हासिल गरेको जित नै प्रमाण छ ।

सुनिता डंगोललाई आफ्नो प्रतिनिधि बनाउन चाहनेले सुनिताको सूर्य चिह्नमै छाप लगाएका त हुन् नि । देशभर स्वतन्त्र भएर लड्ने अरु पनि धेरै छन्, तर तिनले जितेनन्- गोपाल हमालले जिते, किन ? गहिरिएर हेर्न जरुरी छ ।

यो चुनावबाट धनगढीले आफूलाई देशकै चेतनाको केन्द्रका रूपमा र खास गरी सुदूरपश्चिमको आवाजको रूपमा स्थापित गरेको छ । सुदूरपश्चिमलाई परेको र अविकसित भूखण्डको रूपमा हेरिने परम्परागत नेपाली सन्दर्भमा यसपालि धनगढीले काठमाडौंले गर्न नसकेको मूल्यांकन गरेको देखियो ।

सबै मुख्य पार्टीका हस्तीहरू यो क्षेत्रकै भएको हुनाले सबैले धनगढीमाथि प्रशस्त बल लगाएका थिए । तर, मुख्य पार्टीहरू आफ्नो पार्टीलाई अघिल्ला चुनावमा भोट हाल्ने मतदातालाई आफ्नो मतदाता भनेर ढुक्क भएर बसे ।

आफ्नो पार्टीको चिह्न मतपत्रको तल छ कि माथि, वा जनता छाप लगाउन जान्दैनन् कि भन्ने उनीहरूको चिन्ता थियो । तर, उता दूरदराजका बहुसंख्यक जनतासमेत आफूलाई मन परेको प्रत्येक उम्मेदवारको चिह्न खोजीखोजी छाप लगाउन अभ्यस्त भइसकेका थिए । त्यसैगरी, पार्टीहरू परेदेखि गठबन्धनको नाममा जोडघटाउ मिलाउनपट्टि लागे । तर, धनगढीका जनताको मनमा अर्कै अठोट बनिरहेको थियो ।

जनता आफ्नो मुद्दा कसले सही ढंगले उठाऊला र काम गरेर देखाऊला भनेर खोजिरहेका थिए । र, तिनले उत्तरको रूपमा गोपाल हमाललाई भेटे । परिणामस्वरूप मतदानमार्फत धनगढीका जनताले आफ्नो मनले खामेको उम्मेदवार पनि छाने, त्यसमार्फत आफूलाई रैती सम्झने सबै पार्टीहरूलाई घोच्ने खालको उत्तर पनि दिए ।

पार्टीहरूले आफ्ना कार्यकर्तालाई उम्मेदवारका रूपमा पेस गरे, तर धनगढीका जनताले ती पार्टीका उम्मेदवारहरूलाई इन्कार गरे र उम्मेदवार कस्तो हुनुपर्ने हो भन्ने पाठ पार्टीहरूलाई सिकाए ।

वास्तवमा वर्षौंदेखि गोपाल हमालले आफ्नो काममार्फत धनगढीका जनताको साँचो प्रतिनिधिका रूपमा आफूलाई स्थापित गरिसकेको देखिन्छ । परिवर्तनको वाहक बन्छ कि जस्तो देखिएको बेला साझा विवेकशील पार्टीको क्षेत्रीय संयोजक बनेर काम पनि गरेको र पछि जनताको मुद्दा छाड्न खोजेजस्तो देखिएपछि हमाल स्वयम्‌ले नै त्यो पार्टी छोडेका थिए ।

स्थानीयस्तरमा लगानी र व्यापारमार्फत रोजगारी सिर्जना गरी योगदान गरेको, उद्योग वाणिज्य महासंघको स्थानीय शाखामा रहेर काम गरिसकेको, सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा अगुवा भूमिका खेलेको, धनगढी विमानस्थल स्तरोन्नति गर्न लबिङलगायतका कामका माध्यमबाट उनले आफूलाई स्थानीय जनजीवनमा एकाकार गरेको र धनगढीवासीलाई विकासको सपना पनि देखाउन सकेको देखिन्छ ।

हमालले चुनावमा मात्र धनगढीमा सक्रिय हुने प्रवृत्तिविरुद्ध रातोदिन धनगढीका जनतासँग हातेमालो गरेर मन जितेको कुरा घामजत्तिकै छर्लङ्ग छ । यसरी, यो स्तरको घुलनशीलता त काठमाडौंका बालेन शाह र धरानका हर्क साम्पाङको समेत देखिएन भन्दा हुन्छ ।

र, धनगढीको सन्दर्भमा अर्को विचारणीय कुरा के हो भने, गोपाल मात्र हैन, उपमहानगरको यो चुनावमा त्यहाँको वडा नम्बर ४, ५, ७, १९ र १५ मा समेत वडा अध्यक्ष र अन्य पदहरूमा पनि स्वतन्त्र उम्मेदवारहरूले उल्लेख्य मत ल्याएका छन् । त्यस दृष्टिबाट हेर्दा धनगढीका जनता पार्टी हैन, व्यक्ति हेर्ने कुरामा एकदम प्रस्ट भइसकेको बुझ्न अब गाह्रो छैन ।

धनगढीका जनताको यसपालिको निर्णय अरु अनेक दृष्टिले समेत दूरगामी महत्त्वको देखिन्छ । दशकौँदेखि टाढाको, परको, अविकसित क्षेत्र भनेर नेपालको राज्यसत्ताले त्यति ध्यान नदिएको अनुभूति सुदूरपश्चिमलाई थियो । त्यही कुरालाई मुख्य मुद्दा बनाएर सशस्त्र संघर्ष गरेको पार्टी सत्तामा आउँदा समेत यसमा कुनै फरक आएको सुदूरपश्चिमवासीले अनुभव गरेनन् ।

रानी जमरिया कुलरिया वा महाकाली सिँचाइ आयोजनाजस्ता तथाकथित् 'राष्ट्रिय गौरवको आयोजना' र अन्य साना/मझौला आयोजनासमेत यो जिल्ला वा क्षेत्रमा परे पनि त्यसबाट आर्थिक रूपान्तरणमा ठोस मद्दत पुगिरहेको थिएन ।

सिँचाइ आयोजनाको कुरा गर्दा ती आयोजना राष्ट्रलाई प्रशस्त ऋणचाहिँ बोकाउने, काम कहिल्यै नसकिने, पुँजीगत खर्चमा जोड दिने प्रकृतिका योजना भएकाले भ्रष्टाचारको पर्याय भएको जनताले देखेका थिए । चरम आर्थिक-सामाजिक असमानता भएको सुदूर र खास गरी कैलाली-कञ्चनपुरका ती सिँचाइ आयोजना या त प्राविधिक वा ठेकेदार पोस्ने वा जमिनदारको फाइदाका लागि काम गर्ने योजना भनेर जनताले बुझेका थिए । कागजमा जे प्रगति देखाए पनि हालसालको दशकमा सुदूरपश्चिममा अनुभव गरिने परिवर्तनको कमी थियो ।

यो सबैभन्दा कम कमाइ हुने देश भारततर्फ मौसमी कामदार पठाउने प्रदेश भनेर चिनिन्छ । ती आप्रवासी कामदारलाई आफ्नो सुदूरपश्चिमको विकास नभएकोमा खेद थियो, ग्लानि थियो । रिपोर्टहरूले सुदूरपश्चिममा शान्ति सुरक्षा बिग्रेको देखाइरहेका थिए । यहाँ नै चर्चित निर्मला पन्त, भगिरथी भट्टलगायत अन्य धेरै नाबालिका चेलीमाथि जघन्य अन्याय भएको छ । त्यस्ता आपराधिक घटनामा संलग्न अपराधीहरूलाई आजसम्म दण्डित गरिएको थिएन ।

माओवादीको समेत प्रस्ट जनाधार भएको धनगढी र आसपासको क्षेत्र सामाजिक न्यायमा भने कमजोर नै रहिरहेको थियो र छ पनि  । वर्षौंदेखि कामका लागि 'कालीपार' (काला पहाड) जानुपर्ने बाध्यताको अन्त्य हुनु त टाढाको कुरा, त्यसको आधारशिला पनि बनेको थिएन ।

विभिन्न एनजीओहरूले तिनका नाममा जति तर मारे पनि राष्ट्रले जाबो एउटा 'छाउपडी प्रथा' लाई समेत किनारा लगाउन सकेको थिएन र छैन । ४ सेप्टेम्बर २०१९ को अनलाइन खबरको एउटा लेखले देशभरमा सबभन्दा बढी अपराध रिपोर्टिङ भएको ५ जिल्लाको सूचीमा कैलाली जिल्लालाई पनि उल्लेख गरेको थियो ।

सुदूरका धेरै मान्छे, खासगरी धनगढीको ठूलै जनसंख्याले छिमेकी देशको हल्द्वानी, पिलिभित, बरेलीजस्ता शहर देखेका घुमेका छन् । त्यो अनुभवले उनीहरूमा विकासको आकांक्षा भरिनु अत्यन्त स्वाभाविक कुरा थियो । तसर्थ क्षेत्रीय राजधानी भएको नाताले माथि भनिएका तमाम निराशाको समाधान खोज्न यसपालिको स्थानीय चुनावमार्फत धनगढी आफैँ अघि सरेको भनेर बुझ्नु उपयुक्त देखिन्छ ।

धनगढीको स्थानीय निर्वाचनको परिणामको असर अब हुने संसदीय र प्रदेशको चुनावमा के कसरी पर्ला, कस्तो स्थिति बन्ला, कुन पार्टी वा स्वतन्त्र उम्मेदवारले बाजी मार्ला वा धनगढीका मतदाताबाट कस्तो निर्णयको अपेक्षा गर्न सकिन्छ भन्ने कुरा अहिले सर्वत्र चासोको विषय बनेको छ ।

जनताको चेतनास्तर कहाँ थियो, कहाँ पुगिसक्यो तर पार्टीहरू, खासगरी नेपाली कांग्रेसको तरिका भने एकदम पुरातन छ । सम्भवतः ऊ धनगढीमा आफ्ना कति वडाका उम्मेदवारले जितेका छन् र कति भोट ल्याएका छन्, त्यो क्यालकुलेट गर्दै होला । धनगढीका १९ वडामध्ये ११ वटा वडामा कांग्रेस, ६ वटा वडामा एमाले र दुइटा वडामा माओवादीले जितेको छ । तर, त्यसभित्रको विस्तृत परिणामचाहिँ मिश्रित छ ।

स्मरणीय छ, स्थानीय चुनावमा कुनै पार्टीको उम्मेदवारले त्यो वडामा जितेको छ भन्दैमा त्यहाँबाट संघीय संसद् र प्रदेशका लागि त्यही पार्टीको उम्मेदवारले भोट पाउँछ भन्ने कुनै ग्यारेन्टी छैन । अब धनगढीमा त त्यो ग्यारेन्टी झन् छँदै छैन । यो परिवर्तन जनताको चेतनाको प्रतीक र प्रतिबिम्ब हो, तर कांग्रेसमा चाहिँ त्यसलाई 'अन्तर्घात' भनेर पन्छाइदिने चलन छ । एमाले वा माओवादीको पनि स्थिति त्योभन्दा धेरै फरक छैन ।

"स्थानीय चुनावमा कुनै पार्टीको उम्मेदवारले त्यो वडामा जितेको छ भन्दैमा त्यहाँबाट संघीय संसद् र प्रदेशका लागि त्यही पार्टीको उम्मेदवारले भोट पाउँछ भन्ने कुनै ग्यारेन्टी छैन । अब धनगढीमा त त्यो ग्यारेन्टी झन् छँदै छैन ।"

विकासको कुरा गर्दा गत वर्ष र यो वर्ष पनि संघीय सरकारले समेत उल्लेख्य योजना धनगढीको नाममा छुट्याएको छ । गत वर्ष पनि बजेटमा धनगढीको रंगशाला, विद्युतीय बस सञ्चालनमा अनुदान, मेगा सिटीको कुरा, धनगढी विमानस्थल स्तरोन्नति गर्ने कुरा परेको थियो । यो वर्षको बजेटमा पनि ती अधिकांश परेकै छन्, र साथमा खुटिया नदीमा तटबन्ध र बस्ती संरक्षणको कुरासमेत बजेटमा परेको छ । तर तीमध्ये धेरैजसो योजनामाथि जनताको उस्तो रुचि देखिन्न ।

विडम्बना यस्तो छ कि, यो देशमा योजना कसले छान्छ भन्ने नै अनौठो कुरा छ । जसमा जनताको सारभूत स्वामित्व नै हुँदैन । तसर्थ अहिले चलिरहेको पद्धतिमा बनाइने कुनै विकास योजनाले पनि जनताको मन जित्ने देखिन्न, त्यसैले जनता पहिला व्यक्ति रोज्ने अनि त्यसमार्फत आफ्नो सपना पूरा गराउने सोचमा दृढ हुँदै गएको देखिन्छ ।

विकासकै कुरामा कसैले मलाई सोधेको थियो, 'तपाईंको सुदूरपश्चिममाथि धेरै रुचि देखिन्छ र तपाईंले देशविदेशको विकासको मोडल पनि देख्नुभएको छ । त्यसो हो भने यो सुदूरपश्चिमको विकास कसरी होला, कस्तो योजना यहाँका लागि ठीक होला ?'

त्यो त प्रश्न ठूलो थियो, त्यसको सजिलो र सरल उत्तर थिएन । तैपनि, मैले भनेको थिएँ: 

साविकमा जस्तो पुँजीगत खर्च गरिने योजनामा बढी जोड दिइनु हुन्न । त्यस्तो योजना त जनतालाई ऋणको भारी बोकाउन र एकाध व्यक्तिलाई अकुत भ्रष्टाचार गर्न मौका दिनका लागि मात्र ठीक हुन्छ । त्यसको साटो तत्काल जनताको उत्पादकत्व क्षमता बढाउने काममा खर्च गर्नु बुद्धिमत्तापूर्ण हुनेछ । त्यसमार्फत तत्काल जनतालाई उत्पादन शृंखलासँग जोड्नुपर्छ । 

यो वर्ष २५ हजार रुपैयाँ आम्दानी गर्ने परिवारले अर्को वर्ष ५० हजार आम्दानी गर्न मद्दत गर्छ भने मात्र त्यो विकास योजना हो । र, त्यो एक/दुई परिवारका लागि हैन, त्यो मोडल देशभरमा वा कमसेकम प्रदेशभरका लागि काम लाग्ने खालको हुनु जरुरी छ ।  दुई/चार परिवारको हैन, दशौँ लाख परिवारको क्षमता बढाउने खालको हुन जरुरी छ । 

शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने काम गर्न आवश्यक छ, अरु केही चाहिन्न । सुदूरपश्चिम विश्वविद्यालयलाई मात्रै सही नेतृत्वको जिम्मा लगाउने हो भने त्यसले माथि भनिएको मोडलका लागि आधारशिला तयार गर्न सक्छ ।'

मलाई लाग्छ, यस्तो सोचका साथ कुनै उम्मेदवारले जनतासँग भिज्न सक्यो र उनीहरूलाई विश्वास दिलाउन सक्यो भने धनगढी क्षेत्रबाट संघीय र प्रदेशसभाको प्रतिनिधि त्यही हुनेछ । निश्चित रूपमा धनगढी त्यस्तो अर्को गोपाल हमालको खोजीमा छ, जो कुनै पार्टीको नाममा आएको पनि हुन सक्छ वा स्वतन्त्र भएर उठेको पनि हुन सक्छ ।