अमेरीकामा भएको भलिवलमा सुदूरपश्चिम र बाना च्याम्पियन

अमेरीकामा भएको भलिवलमा सुदूरपश्चिम र बाना च्याम्पियन

धनगढी । बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फ सुदूरपश्चिम टेक्सस र महिलातर्फ आयोजक बाना च्याम्पियन भएका छन् । फाइनलमा पुरुषतर्फको उपाधि टेक्ससमा रहेको सुदूरपश्चिम टिमले सिन्धु बुद्ध टिमलाई ३–१ को सेटमा हरायो । प्रतिस्पर्धात्मक खेलमा सिन्धुविरुद्ध सुदूरपश्चिमले २५–२३, २२–२५, २५–१२, २५–१७ को जित निकालेको थियो ।

महिलातर्फ फाइनलमा नेपाली राष्ट्रिय भलिबल टिमकी पूर्वसदस्य रमिला तण्डुकारको कप्तानीमा रहेको आयोजक बानाले म्याग्दी समाजलाई २–१ को सेटमा हरायो । पुरुषमा सुदूरपश्चिम टेक्ससका कैलाश भट्ट र महिलामा रमिला तण्डुकार सर्वोत्कृष्ट खेलाडी बने । विजेताले ५ हजार ५ सय ५५ अमेरिकी डलर र उपविजेताले ३ हजार ३ सय ३३ अमेरिकी डलर पुरस्कार पाए ।

महिला च्याम्पियन बनेको बानाले १ हजार १ सय ११ अमेरिकी डलर पाउँदा उपविजेताले ५ सय ५५ डलर हात पार्‍यो । दुई दिने प्रतियोगितामा महिलातर्फ चार टिम र पुरुषतर्फ १८ टिमले भाग लिएको आयोजकले जानकारी गराएको छ । नेपाली राजदूतावासका उपनियोग प्रमुख कुमारराज खरेल, विधानसभा सदस्य डा। ह्यारी भण्डारी, महावाणिज्यदूत प्रेमराजा महत, बानाका गुठी सदस्य प्रभु थापालागयतले पुरस्कृत गरे ।