२० वर्षमुनिको साफ च्याम्पियनसिपमा बङ्लादेश अङ्क तालिकाको शीर्षस्थानमा

२० वर्षमुनिको साफ च्याम्पियनसिपमा  बङ्लादेश अङ्क तालिकाको शीर्षस्थानमा

काठमाण्डौ । साफ २० वर्षमुनिको च्याम्पियनसिप फुटबलमा नेपाललाई उछिन्दै बङ्लादेश अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

हिजो भएको दोस्रो खेलमा बङ्लादेशले माल्दिभ्सलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो । भारतको भुवनेश्वरमा रहेको कालीङ्गा रङ्गशालामा बङ्लादेशले पहिलो हाफमा नै ४ गोल गरेको थियो ।

योसँगै बङ्लादेशले लगातार तेस्रो जित निकालेको छ । ३ खेलमा ९ अङ्ककासाथ बङ्लादेश शीर्ष स्थानमा छ भने दोस्रो स्थानको नेपालको २ खेलमा ६ अङ्क छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० र दोस्रो खेलमा श्रीलङ्कालाई ३–० गोलले हराएको थियो ।

हिजो भएको अर्को खेलमा आयोजक भारतले श्रीलङ्कालाई ४–० को फराकिलो अन्तरले हराएको छ । भारतको यो पहिलो जित हो । भारत २ खेलमा ३ अङ्कसाथ तेस्रो स्थानमा छ । पुछारमा रहेको माल्दिभ्स र श्रीलङ्काले कुनै अङ्क जोडेका छैनन् ।

प्रतियोगिताको समूह चरणबाट शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । नेपालले भोलि भारतसँग र मङ्गलवार बङ्लादेशसँग खेल्नेछ । फाइनल खेल आउँदो शुक्रवार हुनेछ ।