प्रदेश सरकारले निर्माण गर्ने झुलुङ्गे पुलको काम सुरु हुन सकेन

प्रदेश सरकारले निर्माण गर्ने झुलुङ्गे पुलको काम सुरु हुन सकेन

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले नदी तर्न प्रयोग भइरहेका तुइनका कारण मानिसहरुको ज्यान गइरहेकोले तुइन बिस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गर्नुभयो । प्रधानमन्त्रीको घोषणालाई कार्यान्वयन गर्न सुदूरपश्चिम प्रदेश सरकारले पनि झोलुङ्गे पुल निर्माण कार्यक्रम ल्यायो ।

तर आर्थिक बर्षको तेस्रो चौमासिक शुरु हुँदा पनि झोलुङ्गे पुल निर्माणको काम शुरु हुन सकेको छैन् । सुदूरपश्चिम प्रदेशमा निर्माण हुनुपर्ने झोलुङ्गे पुलहरु निर्माण शुरु हुने तयारीमा रहेको पूर्वाधार विकास कार्यालयहरुले जानकारी दिएका छन् ।

कतिपय स्थानमा बिस्तृत परियोजना अध्ययन सकिएको छ भने कतिपय स्थानमा टेण्डरका लागि प्रक्रिया शुरु भएको छ । तर चालू आर्थिक बर्षको तेस्रो चौमासिक शुरु भइसक्दा पनि पुल निर्माण काम थालनी नै भएको भने छैन् ।

कैलाली र कञ्चनपुरमा पूर्वाधार विकासको काम हेर्ने पूर्वाधार विकास कार्यालय धनगढीका अनुसार कैलालीमा ८ वटा र कञ्चनपुरमा ५ वटा झोलुङ्गे पुल बन्नु पर्ने रातो किताबमा उल्लेख गरिएको । भौतिक पूर्वाधार विकास मन्त्रालयले यी दुई जिल्लामा २ २ वटा झोलुङ्गे पुल थप निर्माण गर्ने गरी कार्यक्रम थपेको छ । 

प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय बाट थप ४ वटा पुलको लागि ७० लाख रकम विनियोजन गरिएको छ । कतिपय योजनाहरुको डिपिआर तयार भइसकेको छ भने कतिपय पुलहरुको डिपिरआर हुन बाकी रहेको पुर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इन्जिनियर श्याम बहादुर खड्काले बताए । 

कैलालीको पहाडी क्षेत्र मौन्याल गाउँपालिमा २ वटा र चुरे गाउँपालिकामा एक वटा पुल बन्ने भएका छन । चुरे गाउँपालिकामा रहेको पुलको डिपिआर तयार भइसकेको खड्काले बताए । कतिपय पुलहरुको टेन्डर आह्वान पनि गरिसकेको र केही पुलहरुको टेन्डर आह्वान गर्ने काम भइरहेको कार्यालयले जानकारी दिएको छ ।

कतिपय योजनाको काम यो आर्थिक बर्ष मै गर्ने तयारी रहेको र बाकी रहेका योजनाको काम अर्को आर्थिक बर्षमा सुरु गर्ने सिनियर डिभिजन इन्जिनियर श्याम बहादुर खड्काल भनाई रहेको छ । कार्यालयको स्थापना ढिलो हुनु र योजनाहरु पनि आफुहरुको लागी नयाँ भएका कारण काममा ढिलाई भइरहेको बताए ।

एक सय २० मिटर भन्दा कम लम्बाई भएका पुलहरु उपभोक्ता समिति मार्फत बन्ने छन भने १ सय २० मिटर भन्दा बढी लम्बाई भएका पुलहरु निर्माण व्यवसाय कम्पनी बाट निर्माण गर्ने आफ्नो योजना रहेको उनले बताए ।

बैतडी,बझाङ र दार्चुला पूर्वाधार विकासको काम हेर्ने पूर्वाधार विकास कार्यालय बैतडीका अनुसार बैतडीमा ७ वटा, बझाङमा ४ र दार्चुलामा एक वटा पुलको काम अगाडि बढेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर जगत जोशीले आफ्नो क्षेत्र भित्रका सबै झुलुङगे पुलहरुको डिपिआर तयार गरी ठेक्का सम्झौताको काम पनि भइरहेको बताए ।

यस्तै अछाममा चार र बाजुरामा एक वटा पुल बन्न लागेको पूर्वाधार विकास कार्यालय अछामले जानकारी दिएको छ । बाजुरामा बन्न लागेको पुल यो आर्थिक बर्ष भित्रै सम्पन्न गरिसक्ने आफ्नो योजना रहेको उनले बताए ।

अछाममा बन्न लागेका चार वटा पुल मध्ये केही पुलहरुको काम सुरु भइसकेको छ भने केही पुलहरुको उपभोक्ता समिति गठन गर्दा समस्या भएका कारण काम अगाडि बढ्न नसकेको पुर्वाधार विकास कार्यालय अछामका प्रमुख जंग बहादुर थापाले बताए । 

यसैगरी डोटी र डडेल्धुरामा पनि झोलुङगे पुल निर्माणको काम शुरु हुन सकेको छैन् । डडेल्धुरामा चार वटा पुल प्रदेश सरकारले बनाउन लागेको छ भने डोटीमा संघीय सरकारले एउटा पुल निर्माण गरिरहेको छ । संघीय सरकार मार्फत बन्न लागेको पुल यो आर्थिक बर्ष भित्रमा नै बनि सक्ने पुर्वाधार विकास कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

अरु पुलहरुको निर्माण कार्य यो आर्थिक बर्षमा सुरुवात गरेर अर्को आर्थिक बर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले बताए ।

कार्यालय ब्यवस्थापनमा ढिलाई भएका कारण काम समयमै सम्पन्न हुन नसक्ने पूर्वाधार विकास कार्यालयहरुले जनाएका छन् । पहिलो बर्ष भएका कारण योजजाहरु समयमै सम्पन्न हुन समस्या भएपनि आगामी आर्थिक बर्षदेखि यसमा सुधार आउने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इन्द्रदेव भट्टले बताए ।