खेलाडीलाई दोष नलगाउनुस् गल्ती मेरो हो : प्रशिक्षक केसी

खेलाडीलाई दोष नलगाउनुस्  गल्ती मेरो हो : प्रशिक्षक केसी

काठमाडौं । यू–२० राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक मेघराज केसीले नेपाली टोलीमा अनुभवको कमीले भारतविरुद्ध फराकिलो अन्तरको हार व्यहोरेको बताएका छन् । यसमा आफ्नो गल्ती रहेको भन्दै केसीले खेलाडी र एन्फालाई दोष नदिन आग्रहसमेत गरेका छन् ।

भारतमा भइरहेको साफ यू–२० च्याम्पियनसिपमा आइतबार भारतसँग ८–० ले पराजित भएपछि केसीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन् । ‘टिमलाई समर्थन गर्नु भएकोमा सबैलाई धन्यवाद । खेलाडीहरुमा अनुभवको कमी छ तर ट्यालेन्ट पनि त्यत्तिकै छ,’ केसीले लेखेका छन्, ‘सबैलाई खुशी दिन नसकेकोमा दुःखी छौं । खेलाडी र एन्फालाई दोष नलगाउनुस्, यो मेरो गल्ती हो ।’ उनले आफूहरुलाई ‘रिकभर’ हुन दुई दिन लाग्ने उल्लेख गरेका छन् । उनले आफू टिममै रहेर आफ्नो फाइदाको लागि फुटबल डुबाउन नसक्ने पनि जनाएका छन् ।

सुरुको दुई खेलमा माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपाल भारतसँग पराजित भएपछि फाइनल पुग्ने सम्भावना पनि कठिन बनेको छ । नेपालले फाइनल पुग्न अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत माल्दिभ्ससँग हार्नुपर्नेछ वा बराबरीमा रोकिनुपर्नेछ ।

नेपाल र भारतको समान ६–६ अंक छ तर भारत अगाडि छ । बंगलादेश तीन खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा छ ।