सुन चोरी प्रकरण : धनगढीका लामिछाने संगै थप ३ जना पक्राउ

सुन चोरी प्रकरण : धनगढीका लामिछाने संगै थप ३ जना पक्राउ

धनगढी ।  जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीका सुन व्यवयासी सन्तोष लामिछाने मुछिएको सुन चोरी प्रकरणमा थप ३ जनालाई पक्राउ गरेको छ । भारतको मुम्बई जाने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेपछि एकाएक चर्चामा आएका सुनचाँदी व्यवसायी लामिछाने मुछिएको चोरी प्रकरणको अनुसन्धानका क्रममा थप ३ जना पक्राउ परेका हुन ।

प्रहरीले लामिछाने सहित पक्राउ परेका ३ जना भारतको पञ्जावमा भएको एउटा सुन चोरीको घटनामा जोडिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ( डीएसपी ) वेदप्रकाश जोशीले लामिछानेसँगै भारतबाट सुन चोरी र ओसारपसारको कार्यमा संलग्न रहेको आरोपमा अन्य तीन जनालाई पनि पक्राउ गरिएको जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको तत्काल विस्तृत विवरण दिन नसकिने उनले बताए ।

उक्त एक करोड बढीको सुन चोरीको उजुरी भारतीय दूतावासमार्फत आएको प्रहरीले जनाएको छ । उक्त प्रकरणको विगत डेढ महिनादेखि अनुसन्धान जारी रहेको जनाइएको छ ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका लामिछानेलाई पनि कैलाली ल्याइसकेको प्रहरीले जनाएको छ ।