सुदूरपश्चिममा १ बर्षमा ३०१ जघन्य अपराधका घटना दर्ता

सुदूरपश्चिममा १ बर्षमा ३०१ जघन्य अपराधका घटना दर्ता

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८ ०७९ मा प्रदेशका ९ जिल्लामा १ हजार ७९२ आपराधिक घटना दर्ता भएका छन् । गत आर्थिक वर्षमा प्रदेशमा जघन्य अपराधका ३०१ र गम्भीर अपराधका २८४ घटना प्रहरीमा दर्ता भएका हुन् । सामान्य अपराधका ७८० र महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धको अपराधका ४२७ मुद्दा दर्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अपराधका ती उजुरीअनुसार सबैभन्दा बढी १८ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्तिविरुद्ध उजुरी परेको छ उक्त समूहका व्यक्तिहरूविरुद्ध ६३० उजुरी पर्दा बालबालिकाका विरुद्धका उजुरी २५७ वटा छन् । ४० देखि ६० वर्षमुनिका व्यक्तिविरुद्ध १२० मुद्दा दर्ता छन् ।

सुदूरपश्चिम प्रहरीमा एक वर्षमा जघन्य अपराधका ३०१ घटना दर्ता भएका छन् । सोमध्ये १२० आपराधिक घटना बालबालिकाविरुद्धका छन् । १६४ घटनामा १८ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई विपक्षी बनाइएको छ भने १९ जना ४० भन्दा बढी तर ६० वर्षमुनिका छन् । ४ मुद्दा ६० वर्षमाथिका व्यक्तिविरुद्ध छन् ।

कर्तव्य ज्यानका ५८ घटना दर्ता भएका छन् । प्रदेशमा अपहरण तथा शरीर बन्धकका तीन मुद्दा दर्ता भएका छन् भने मानव बेचबिखन विरुद्धका ८ घटना दर्ता छन् ।