जापान पुगेर प्रचण्डले भने  : शिन्जो आबेलाई भेट्ने इच्छा पूरा भएन

जापान पुगेर प्रचण्डले भने  : शिन्जो आबेलाई भेट्ने इच्छा पूरा भएन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान पुगेका छन् ।आज बिहान नारिता विमानस्थलमा अवतरण भएका उनले पत्रकारसँग कुराकानी गर्दै भ्रमणका क्रममा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने इच्छा रहेको तर त्यो पूरा हुन नसकेको बताए । आबे र आफ्नो पूर्वप्रधानमन्त्रीका हैसियतले पटकपटक भेटवार्ता र अन्तरक्रिया भएको सम्झिंदै प्रचण्डले यसपटकको भ्रमणमा जापानमै भेट्ने इच्छा भए पनि त्यो पूरा नभएको बताएका हुन् ।

आफ्नो भ्रमणको टुंगो लागेपछि आबेसँग भेट्नलाई राजदूत र दूतावासमार्फत मिलाउने प्रयास गरिरहेको भन्दै उनले भने, ‘उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई अर्को हाइटमा कसरी लाने भन्ने मेरो इच्छा थियो । त्यो चाहिं पूरा भएन । बडो दुर्भाग्यपूर्ण घटना भयो । जापानका लागि त यो विरलै हुने घटना हो ।’
पूर्वप्रधानमन्त्री आबेको केही समयअघि गोली हानी हत्या भएको थियो ।  अध्यक्ष प्रचण्डले आबेका परिवारलाई समवेदना व्यक्त गर्दै मौका मिले भेट्ने  बताए ।

प्रचण्डले आफू भ्रमणको क्रममा नेपाल-जापानको सम्बन्धका साथै जापानमा रहेका नेपालीको अवस्थाको अध्ययन गर्ने बताए ।