दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा अवलोकन

दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा अवलोकन

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ७०९ जनाले शुक्लाफाँटाको भ्रमण गरेका छन् । जसमा दुई हजार ५७९ जना नेपाली, १०५ जना सार्क राष्ट्रका र ४५ जना अरू विदेशी रहेका छन् । 
आर्थिक वर्ष २०७६/७७ र आर्थिक वर्ष २०७७/७८ मा एकाएक घटेको सङ्ख्या गत आर्थिक वर्षमा बढोत्तरी भएको हो । आर्थिक वर्ष २०७६/७७ मा एक हजार ७७५ जनाले शुक्लाफाँटाको अवलोकन गरेका थिए । जसमा ३९ महिला र ६१ पुरुष गरेर एक सय विदेशी नागरिक, २१ महिला र ५१ पुरुष गरेर ७२ जना सार्क राष्ट्रका र ६२१ महिला र ९८२ पुरुष गरेर एक हजार ६०३ जना रहेका थिए । 
आर्थिक वर्ष २०७७/७८ मा अलि बढेर दुई हजार ९३५ पुग्यो तर तीन जना विदेशी पुरुष तथा सार्क राष्ट्रका दुई जना महिला र तीन जना पुरुष मात्रले शुक्लाफाँटाको अवलोकन गरेका थिए,  बाँकी सबै आन्तरिक पर्यटक रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए । 
उनले भने–‘नेपाल आउने अधिकांश विदेशी पर्यटक भारतको बाटो भएर आउने गरेका छन्। नेपाल–भारतको नाका लामो समय बन्द रहेपछि विदेशी पर्यटक नआएका हुन् ।’ कोभिड सुरु हुनुभन्दा पहिले आर्थिक वर्ष २०७५/७६ मा शुक्लाफाँटामा आन्तरिक तथा बाह्य गरेर १२ हजार १३८ जनाले शुक्लाफाँटाको भ्रमण गरेको तथ्याङ्क छ। त्यस्तै ०७४/७५ मा चार हजार सात सय जना पर्यटकले शुक्लाफाँटाको अवलोकन गरेका थिए । शुक्लाफाँटामा विशेष गरेर जङ्गल सफारी, रानीताल अवलोकन, चराको अवलोकन, एसियाकै दोस्रो ठूलो घाँसे मैदानको अवलोकन, हात्तीमा सफारी, झुण्डमा बाह्रसिङ्गाको अवलोकन, चितल, कृष्णसार, सिंहपाल बाबा मन्दिर र बाघलगायत जङ्गली जनावरको अवलोकन गर्न पर्यटक आउने गरेका छन् ।