धनगढी । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन आफू प्रयासरत रहेको बताएका छन्।
नेपाल फेष्टिबल फुकुओका–२०२२ को उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले एनआरएनए नेपालीलाई आफ्नो मताधिकार सुनिश्चित गर्नका लागि नागरिकता दिने गरी विधेयक ल्याइएको र यसबाट नेपालको विकास र आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
मंसिर ४ मा घोषित प्रदेश र संघको निर्वाचनबाट स्थिर र बलियो सरकार हुने र यसले देशमा विकास, सुशासन र विदेशमा रहेका नेपालीको ज्ञान सिप र पुँजी लगानीमा उपयुक्त वातावरण सिर्जना हुने विश्वास उनले लिए।
जापान र नेपालका बीचमा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको र आफ्नो जापान भ्रमणले सो सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउँदै नेपालको विकासमा आर्थिक लगानी बढ़ाउन आफू लागिपर्ने उनको भनाइ थियो।
पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या हुनु दुखद रहेको पनि प्रचण्डले बताए। शनिबार बिहान नारिता विमानस्थलमा आफूले बोलेको कुरा तोडमोड गरिएको उनले बताए। प्रचण्डले आबे नेपाल आउँदा आफूले भेटेको बताएका थिए। तर, आबे नेपाल आएका थिएनन्।