बैतडीका बाढीपहिरो पीडितलाई  राहत  उपलब्ध गराउन सरकारसंग आग्रह

बैतडीका बाढीपहिरो पीडितलाई  राहत  उपलब्ध गराउन सरकारसंग आग्रह

बैतडी  । गत बर्षको कार्तिक अन्तिम साता आएको बेमौसमी बर्षाका कारण प्रभावित परिवारलाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस बैतडीले माग गरेको छ । जिल्लाको शिवनाथ र सिगास गाउँपालिकामा त्यो बेला बढी क्षति भएकाले दुवै पालिकाका प्रभावित परिवारलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । 

कांग्रेस सभापति चन्दको नेतृत्वमा सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी, शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँद लगायतको टोलीले गृहसचिवसंग बाढी पहिरो प्रभावित परिवारको समस्याका बिषयमा छलफल गरेको छ । दुवै पालिकालाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरिसकेकको र राहतका बिषयमा गृहसचिवसंग छलफल भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

बेमौसमी बर्षाका कारण आएको बाढी र पहिरोले सिगासमा साढे तीनसय बढी परिवार प्रभावित बनेका थिए भने शिवनाथमा पनि ३ सय परिवार प्रभावित बनेका थिए । ती मध्ये शिवनाथमा २५ परिवारको घर पूर्ण रुपमा  नष्ट भएको थियो । 

संकटग्रस्त पालिकाहरुमा प्रभावित परिवारका लागि कार्यक्रम सञ्चालन गर्ने बिषयमा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारीहरुसंग छलफल गर्ने तयारी भएको अध्यक्ष साउँदले बताए ।