धनगढी उपमहानगरले अहिले सम्म पशु चौपाया व्यवस्थापनमा खर्च गरेको ७२ लाख बढी 'बालुवामा पानी'

धनगढी उपमहानगरले अहिले सम्म पशु चौपाया व्यवस्थापनमा खर्च गरेको ७२ लाख बढी 'बालुवामा पानी'

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढी उप-महानगरपालिकाले बितेका चार वर्षमा उप-महानगर भित्रका छाडा गाईबस्तुको व्यवस्थापनमा ७२ लाख बढी रकम खर्च गरेको छ । रकम उप-महानगरपालिकामा सङ्घीयता लागु भए सँगै नयाँ नेतृत्व पाए पश्चात् छाडा पशु चौपाया व्यवस्थापनको निम्ति गाई हेरालु, गाईबस्तु पशुपंक्षिको आहारामा ७२ लाख ८९ हजार छ सय साठी रुपैयाँ खर्च गरेको हो । 

रेडियो धनगढी ९०.५ मेगाहर्जले धनगढी उप-महानगरले २०७४ असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचन बाट नयाँ जनप्रतिनिधि पाए पश्चात् छाडा पशु चौपाया व्यवस्थापन अर्थात् सडक तथा विभिन्न सार्वजनिक स्थानमा छोडिएका गाई बस्तुको व्यवस्थापनमा उप-महानगरका त्यस बखतका नगर प्रमुख नृप ब. वडको नेतृत्वमा गाई बस्तु, पशुपंक्षिको आहारा गौशालालाई दिइएको अनुदान, गौशाला निर्माणमा भएको खर्च र नगरपालिकाले खर्च गरेको आर्थिक भार बाट के-कति नतिजा हासिल गर्‍यो कुन प्रायोजनमा कति खर्च भयो र खर्च गरे अनुसारको उपलब्धि भए नभएको शीर्षक सहित खुलाई पाउँ  भनी सूचना माग गरेको थियो । सो क्रममा उल्लेखित मध्ये हेरालालाई दिइएको खर्च र गाईबस्तु, पशुपंक्षिको आहारा भन्ने शीर्षक मात्रै स्पष्ट हुने गरी सूचना उपलब्ध भयो भने अन्य कुनै पनि शीर्षक नभएको र समग्र खर्चको विवरण मात्रै नगरपालिका सँग तथ्याङ्क रहेको धनगढी उप-महानगरपालिकाले जानकारी दिएको छ । 

धनगढी उप-महानगरपालिकाका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी सुरेन्द्र सिंह कार्की मार्फत उप-महानगरले दिएको जानकारी अनुसार गाई हेरालालाई मात्र २०७५ श्रावण महिना देखी २०७९ आषाढ मसान्त सम्म चार वर्ष अर्थात् ४८ महिनाको समया अवधिमा ५६ लाख २१ हजार सात सय साठी रुपैयाँ खर्च गरिएको छ । भने उक्त अवधिमा गाईबस्तु, पशुपंक्षिको आहारामा मात्रै १६ लाख ६७ हजार नौ सय रुपैयाँ खर्च गरिएको छ । 

जसमा गाईबस्तु, पशुपंक्षिको आहारामा क्रमशः आर्थिक वर्ष २०७५/०७६ मा एक लाख २८ हजार आठ सय रुपैंया, आ.व २०७६/०७७ मा चार लाख ४१ हजार एक सय रुपैयाँ, आ.व. २०७७/०७८ मा पहिलो पटक दुई लाख ४० हजार र दोस्रो पटक पाँच लाख १६ हजार गरी जम्मा सात लाख ५६ हजार रुपैयाँ र २०७८/०७९ मा तिन लाख ४२ हजार रुपैयाँ खर्च भएको छ । 

उप-महानगरका नागरिकको लागी दुर्भाग्यको कुरा त के भने ७२ लाख ८९ हजार छ सय साठी रुपैयाँ नागरिकले विभिन्न माध्यमबाट तिरेको करको खर्च के-के कुरामा गरियो भन्ने समेत लेखा-जोखा राखिएको छैन । झन् त्यसबाट सकारात्मक उपलब्धि हात पर्‍यो होला भन्ने सोच्न समेत व्यर्थ हुन्छ होला !

२०७९ वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन बाट उपमहानगरले नयाँ नगर प्रमुखका रूपमा गोपाल हमाललाई पाएको छ । 

छाडा पशु चौपायाको व्यवस्थापनका लागी के गर्लान् मेयर हमाल ? 

सो विषयमा धनगढी उप-महानगरका हालका नगर प्रमुख गोपाल हमालले यो समस्या वास्तवमै समुदायबाट सिर्जित समस्या भएको बताएका छन् । उनले यो समस्या आफैमा समस्या नभएर नभएर समुदायबाटै दूध दिइन्जेल नागरिकहरूले पनि गाई पाल्ने र दूध दिन छोडेपछि सडकमा अथवा सार्वजनिक स्थान कतै छोड्ने प्रवृत्तिले गर्दा यो समस्या उत्पन्न भएको बताए । 

तपाईँको कार्यकालमा कसरी छाडा पशु चौपायाहरू परिणाम देखिने गरी व्यवस्थापन गर्नु हुन्छ ? के छ तयारी ?

अब हामीले के सोच बनाएका छौँ भने । यो भन्दा पहिले पनि स्थानीय तहबाट कतिले रकम लिएका छन् । तर हामीले थाह पायौँ गाईहरू मारिरहेका छन् । कसैले भिरबाट खसाले । कहीँ आहारा को सन्तुलन नमिल्दा बिरामी भएर मरे । त्यस कारण एउटा कुरामा हामीले के प्रस्ट सोच बनाएका छौँ भने समुदायको साझेदारी नगरीकन यो समस्यालाई समाधान गर्न सकिँदैन । यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न समुदायको साझेदारी नै गराउने भन्ने धनगढी उप-महानगरपालिकाको निष्कर्ष छ । 

अहिले हामीले वडा नं. १४, १८, १९ मा एउटा गौशाला १५, १६, १७ मा एउटा त्यसै गरी १३, ६ र ११ मा एउटा र धनगढीको २ वटा गौशालालाई व्यवस्थित गरेर छाडा पशु चौपायाको व्यवस्थापन गर्ने तर समुदाय स्तरमा । 

त्यसैले हामीले समुदाय स्तरमा स्थानीय सामुदायिक वन, त्यहाँको बुद्धिजीवीहरू, कृषक वर्ग र वडा कार्यालयहरूको संयुक्त भेलाले छनौट गरेर एउटा समिति बनाउने र त्यो समिति मार्फत हामीले एउटा योजना अनुसार यसको संरचना निर्माण गर्ने । गाईलाई राख्ने ठाउँ बनाइदिने, दाना राख्ने ठाउँ बनाइदिने, त्यहाँ पानीको व्यवस्था गराइदिने जस्ता भौतिक संरचनाहरू बनाई दिने र हरेक वर्ष बनाउँदै बनाउँदै त्यो गौशालालाई आत्म निर्भर बनाउने तरिकाले काम गर्छौँ । तस्तै, अर्को वर्ष गौमुत्रबाट अर्क बनाउने कुरा होस अथवा गाईको गोबरबाट गोबर ग्यास उत्पादन गर्ने कुरा होस् । हरेक वर्ष व्यवस्थित र दिगो उत्पादन तिर जोड्ने गरी काम गछौं । गाईहरूलाई थुनेर मात्रै हुँदैन । 

फूलबारी क्षेत्रमा वडा नं. १८ र १९ मा एउटा समिति गठन भई सक्यो । त्यस्तै, १७, १६ र १५ को लागी चाही श्रीकृष्ण... छ नि । उहाँहरूले हामीले व्यवस्थापन गर्छु भन्नुभएको छ । अहिले हामी उहाँहरू सँग एक राउण्ड बसी सक्यौ । सेकेन्ड राउण्डमा उहाँहरूले कुन(कुन सर्तमा बनाउने भन्ने योजना ल्याउनु हुन्छ त्यो अनुसार काम अगाडी बढ्छ । 

अर्को कुरा सामुदायिक वनमा गाई चरायो भने वनको हैसियत समाप्त हुन्छ । भन्ने जुन सोच छ । त्यो सोच भन्दा माथि उठ्नु पर्‍यो । किन भने गाईले जङ्गलमा गएर चर्‍यो भने गोबर दिन्छ । मूत्र दिन्छ । झन् वनको हैसियत बढ्छ के । त्यसैले हामीले सामुदायिक वनलाई पनि यस अन्तरगत जोडेका हौँ । अब हामीले बजेट छुट्याएका छौँ । हामीले बजेट मार्फत भौतिक संरचना र गौशाला सञ्चालनको आधार भौतिक संरचना तयार गरी दिन्छौ । त्यो बजेटको सही सदुपयोग गर्न सञ्चालन समुदायले नै गर्नु पर्छ । गर्छ पनि । 

उसो भए समुदायले अपनत्व ग्रहण गर्ने गरी काम गर्नु हुन्छ ?

'इक्ज्याक्टली, ईक्ज्याक्टली'कुरा त्यही हो । 

अहिले मनहेरामा पनि गाईहरू मर्न लागेको भन्ने छ ? त्यहाँ के कारणले मरिरहेका छन् पशु चौपाया ?

अहिले त्यहाँ खाना नपाएर गाईहरू मरिरहेको भन्ने भएको छ । त्यो हैन । त्यो गलत कुरा भाछ । खान नपाएर मरेको हैन की के रहेछ भने गाईले हरियो घाँस खान र अलिकी हिँडडुल गर्न पाएन दौडिन पाएन भने हामीले जतिसुकै भिटामिन खाए पनि बिरामी हुँदो रहेछ । अहिले हामीले त्यहाँ चोकर, गाउँको ढुटो, पराल र राईस ब्रान खुवाइरहेका छौँ त्यसले गर्दा । हरियो घाँस नहुँदा समस्या भएको हो । अब त्यहाँ मारवाडी युवा मञ्चले त्यहाँको सबै काममा सहयोग गिरहेको छ । उहाँहरूलाई धन्यवाद दिन पनि चाहन्छौँ । त्यस्तै यहाँ बाट हामीले एक जना पशु चिकित्सक सहायकलाई फोकल पर्सन पनि तोकी सकेका छौँ । त्यहाँ देखिएको समस्या समाधानको निम्ति पनि काम थालिएको छ ।