जापानमा एक वर्षमा ७ लाख जनसंख्या घट्यो

जापानमा एक वर्षमा ७ लाख जनसंख्या घट्यो

जापानको जनसंख्या एक वर्षमा  ७ लाख भन्दा बढीले घटेको छ ।  २०२२ जनवरी १  सम्म जापानको कुल जनसंख्या १२५ दशमलव ९३ मिलियन थियो, जुन १९५० मा रेकर्ड गरिएको तथ्याङ्क पछि सबैभन्दा ठूलो गिरावट हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको तथ्यांक हेर्दा मृत्युको संख्याजन्म भन्दा बढि भएको छ। यो पछिल्लो सरकारी तथ्याङ्क बुधबार सार्वजनिक भएको हो। जापानको कुल जनसंख्या १२ करोड ५९ लाख २७ हजार ९०२ मा झरेको छ। यो तथ्यांक अघिल्लो वर्षको भन्दा ७ लाख २६ हजार ३४२ ले कम हो। 

मन्त्रालयका अनुसार, जापानी नागरिकको संख्या २०२१ मा ६ लाख १९ हजार १४० ले घटेर १२ करोड ३२ लाख २३ हजार ५६१ रहेको थियो। जसमा १४ लाख ४० हजारको मृत्यु हुदा ८ लाख १० हजारको जन्म भएको थियो।

श्रमिक जनसङ्ख्या मानिने १५ देखि ६४ वर्ष उमेर समूहका मानिसको अनुपात कुल जनसङ्ख्याको रेकर्ड ५८ दशमलव ९९ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ भने ६५ वर्षभन्दा माथिका मानिसको प्रतिशत २९ प्रतिशत रहेको छ।