आज जनै पूर्णिमा

आज जनै पूर्णिमा

 आज जनैपूर्णिमा पर्व मनाइँदै छ । यो पर्वलाई ‘रक्षा बन्धन’ वा ‘ऋषि तर्पणी पनि भन्ने गरिन्छ।  हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ। यो वर्ष बिहीबार र शुक्रबार दुई दिन पूर्णिमा तिथि रहे पनि सूर्योदय कालमा पूर्णिमा तिथि रहेकाले आज शुक्रबार जनैपूर्णिमा मनाउन लागिएको हो।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ। पूर्णिमाका दिन नयाँ जनै लगाउने तागाधारीले बिहानी उठी नुहाइधुवाइ गरी वैदिक मन्त्र उच्चारण र सप्तर्षिलाई तर्पण गरी जलसेचन गराइएको जनै धारण गर्ने परम्परा छ । उनीहरू पुरानो जनै फुकाली चोखो गरी नयाँ जनै फेर्ने गर्छन्।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।