कांग्रेसमा उम्मेदवारी मनोनयनको अधिकार सभापति देउवालाई

कांग्रेसमा उम्मेदवारी मनोनयनको अधिकार सभापति देउवालाई

काठमाडौँ /  नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयनको अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ । बैठकले विधानको व्यवस्थाबमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीबाट उम्मेदवारी दर्ता गर्न सभापति देउवाले उम्मेदवारी मनोनयनको औपचारिक पत्र दिने निर्णय गरेको हो ।

केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकले पार्टीको विधानबमोजिम उम्मेदवारी मनोनयनको अधिकार सभापति देउवालाई दिएको हो ।बैठकले निर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गर्न तल्ला तहका कार्यसमितिहरुलाई निर्देशन दिने निर्णयसमेत गरेको हो ।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बैठकले आगामी निर्वाचनकालागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्न परिपत्र गर्ने निर्णय गरेको बताए । ‘हाम्रो विधानले तल्ला तहबाट उम्मेदवार सिफारिस गर्ने र संसदीय समितिले टुंगो लगाउने व्यवस्था गरेको छ । त्यहीअनुसार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ क–कसको आकांक्षा छ भन्ने कुरा तल्ला तहबाट सिफारिस गर्न बैठकले परिपत्र गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘अब कार्यालयले त्यहीअनुसार तल्ला तहलाई परिपत्र गर्ने छ ।’

मिश्रित निर्वाचन प्रणालीअनुसार नेपालमा ६० प्रतिशत प्रत्यक्षतर्फ निर्वाचित हुने र समानुपातिकतर्फ ४० प्रतिशत निर्वाचित हुने व्यवस्था छ । त्यहीअनुसार दलहरूले उम्मेदवारी दिनेछन् ।