मधेश सरकारका मन्त्री प्रहरी समायोजनको माग गर्दै धर्नामा बस्ने

मधेश सरकारका मन्त्री प्रहरी समायोजनको माग गर्दै  धर्नामा बस्ने

संघीय सरकारले प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारका मन्त्री धर्नामा बस्ने भएका छन् ।

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई भेटेरै आग्रह गरेको र यसअघि अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि अब प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले बताए ।

शनिबार पत्रकार सम्मेलन गरी उनले प्रहरी समायोजन नगरेको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनले आइतबारदेखि बिहान ११ देखि २ बजेसम्म प्रदेश प्रमुख कार्यालयमा धर्ना दिने बताए ।

धर्नामा प्रदेशका मन्त्री, प्रदेश सांसदको सहभागिता रहने मन्त्री साहले बताए । यसअघि प्रदेशका मन्त्रीहरुले गत साता प्रहरी समायोजनका निम्ति प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै आन्दोलनको अल्टिमेटम दिएका थिए ।

नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसूची ६ को क्रम संख्या १ मा प्रहरी, शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहने उल्लेख छ । तर प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नपाएको मन्त्री साहले बताए ।