डोटीका समिर जो गजलमा देशभरमै उत्कृष्ट बने

डोटीका समिर जो गजलमा देशभरमै उत्कृष्ट बने

धनगढी। डोटीको केआइसिंह गाउँपालिका वडा नम्बर २ मा जन्मिएका समिर ओझा अहिले २१ वर्षका भए। तर, उनले साहित्यको क्षेत्रमा पाएको सफलता कतिपयले २१ वर्षसम्म नपाएका हुन सक्छन्। स्कुले जीवनदेखि नै कला साहित्यमा रुचि राख्ने उनै समिर अहिले युवा गजलकार भएर उदाएका छन्। कक्षा १० सम्म गाउँकै विद्यालयमा अध्ययन गरेका उनी पहिलेदेखि नै मुक्तक र गजल लेख्ने गर्थे। तर, गाउँमा लेखेको रचना न धेरैलाई सुनाउन पाइथ्यो न धेरैले पे्ररणा दिन्थे। पछि उच्च शिक्षा अध्ययनका लागि कैलाली झरेपछि उनका रचना धेरैको कानमा गुन्जिए। अनि सुरु भयो गजल लेख्ने यात्रा।

‘सुरुवातमा मैले साहित्य सिर्जना गर्दा धेरैलाई सुनाउन पाउँथेन। अहिले अग्रजलाई सुनाउँछु। अनि त्यहिँबाट प्रेरणा मिल्यो,’ उनले भने। ओझा विज्ञानका विद्यार्थी हुन्। उनी अहिले धनगढीमै बसेर स्नातक तह अध्ययन गरिरहेका छन्। विज्ञानका विद्यार्थी भएपनि उनमा साहित्य भोग धेरै छ। र, बेला बेला कोर्ने गर्छन्, शब्दहरु। सुरुवातमा उनका गजलहरु सुन्ने अवसर उनका साथीले मात्रै पाउँथे। तर पछिल्लो समयमा आयोजना हुने विभिन्न साहित्यिक कार्यक्रममा उनले आफ्ना कला प्रस्तुत गर्न थालेपछि त्यो जमात फराकिलो बनेको छ। त्यसपछि अग्रजबाट पाएको प्ररणाले नै उनलाई थप सशक्त गजल लेख्ने उर्जा मिल्यो। अहिले देशका अधिकांश गजलप्रेमीले उनलाई चिन्न थालेका छन्।

केही समय अगाडि काठमाडौंमा सम्पन्न भएको गजल प्रतियोगितामा ओझा पनि सहभागी थिए। देशभरबाट दुई सय जनाभन्दा बढीको सहभागिता रहेको प्रतियोगितामा उनले नसोचेको सफलता पाए। गजल लेखन तथा वाचनमा देशभरमै पहिलो भए। योसँगै उनलाई गजलको यात्रामा थप बल पुगेको छ। आगामी दिनमा अझ बढी उत्कृष्ट गजल लेख्ने जिम्मेवारी उनको काँधमा आएको छ। ‘देशभरमै पहिलो भएपछि थप जिम्मेवारी पनि बढेको छ,’ उनले भने, ‘आगामी दिनमा अझै सुन्दर सिर्जना गर्नुपर्ने चुनौती म सामू छ।’ २१ वर्षको युवा उमेरमा देशभरबाट उत्कृष्ट बनेका ओझालाई आगामी दिन पनि चुनौती र अवसर बराबर छन्। सशक्त गजल लेख्नु र त्यसलाई निरन्तरता दिनु एक चुनौती देखिएको छ भने आम साहित्यप्रेमी माँझ अझ परिचित तथा उत्कृष्ट हुनु अवसरका रुपमा रहेको छ। लेख्ने, वाचन गर्ने तथा गाउने कलामा समेत पोख्त उनी आगामी दिनमा विख्यात गजलकार हुनसक्ने संकेत देखिएको छ। विज्ञान विषयको पढाइलाई व्यवस्थापन गरी साहित्यमा बामे सर्दै गरेका उनले गजललाई नछोडने बताएका छन्।