राजपुतले बलात्कारको आरोप लगाएका शिवराज श्रेष्ठ पक्राउ

राजपुतले बलात्कारको आरोप लगाएका शिवराज श्रेष्ठ पक्राउ

निहारिका राजपुतले आफूमाथि बलात्कारको आरोप लगाएका शिवराज श्रेष्ठ पक्राउ परेका छन्। त्यही मुद्दामा प्रहरीले‍ धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी शिवराजलाई पक्राउ गरेको हो। निहारिकाले आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको आरोप लगाएकी छन । 

शिवराजमाथि निहारिका नाबालिग हुँदा बलात्कार गरेको र उक्त करणीबाट बच्चा जन्मिएको आरोपमा  मंगलबार प्रहरीले शिवराज श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्‍ता डिआइजी टेकप्रसाद राईले जानकारी दिएका छन। 

निहारिकाले आफ्नो बच्चा र बलात्कार आरोपित श्रेष्ठको डिएनए गर्नुपर्ने माग गर्दै गत शुक्रबार उनले राष्ट्रपति भवनअगाडि पेट्रोल छर्केर आत्महत्याको प्रयास समेत गरेकी थिइन्। यस्तै माइतीघर मण्डल, बसन्तपुर लगायत क्षेत्रमा आफ्ना माग राखी धर्ना पनि दिएकी थिइन्।  

यस मुद्दामा शिवराज श्रेष्ठको पक्षमा फैसला गर्ने न्यायाधीश पर्शुराम भट्टराईमाथि न्याय परिषदले छानबिन गरिरहेको छ। उनलाई सर्वोच्च अदालतले काजमा तानेको छ।

गत जेठ १७ गतेदेखि असार ३ गते सम्म अनसन बस्दै आएकी उनले असार ३ गते सरकार र निहारिकाबीच पाँच बुँदे सहमति भएपछि उनले अनसन तोडेकी थिइन्।

प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत् पहल गर्ने, राज्यका सम्पूर्ण निकायका कानुन पीडितमैत्री बनाउन पहल गर्ने लगायत सहमति गरेको थियो।