पाटन नगरपालिकाले  चालु आर्थिक बर्षका योजना कार्यान्वयन गर्ने

पाटन नगरपालिकाले  चालु आर्थिक बर्षका योजना कार्यान्वयन गर्ने

बैतडी । संघीयता आए पछि पनि असारे विकासको प्रवृति मौलाएको भन्दै चर्को आलोचना भइरहेका बेला बैतडीको पाटन नगरपालिकाले चालु आर्थिक बर्षका योजना समयमै कार्यान्वयन गर्ने तयारी गरेको छ । 

नगरपालिकाले चालु आर्थिक बर्षका लागि स्वीकृत गरेका योजनाहरु समयमै कार्यान्वयनमा लैजाने गरेर तयारी भएको नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । नगरपालिकाले भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्न सबै वडा कार्यालयहरुलाई निर्देशन दिइसकेको उनले बताए । 

भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गरेर असोज महिनादेखि काम शुरु हुने उपप्रमुख बोहराले बताए । उनले भने ‘असारमा मात्रै योजना सम्पन्न गर्ने परिपाटीको हामीले अन्त्य गर्न खोजेका छौं ।

स्थानीय तहहरुले पनि असारमै योजना कार्यान्वयन गर्ने प्रवृति ल्याएको भन्दै व्यापक आलोचना भइरहेकाले पाटन नगरपालिकाले गरेको शुरुवात निकै राम्रो भएको प्रतिक्रिया आएको छ । नगरपालिकाले समयमै योजना कार्यान्वयन गरेर योजना पारदर्शीता र दिगोपना ल्याउनका लागि पहल गर्नुपर्ने स्थानीय अम्बादत्त पन्तले बताए । 

नगरपालिकाले योजनाहरुलाई समयमै सम्पन्न गर्ने र त्यसको अनुगमनलाई प्रभावकारी बनाउने तयारी भइरहेको उपप्रमुख बोहराले बताए । उनले भने ‘समयमै हामीले काम सक्यौं भने अनुगमन गर्न पनि सजिलो हुन्छ । असारे विकासको प्रवृतिलाई हामीले रोक्न खोजेका छौं ।’