कैलालीमा ओल्के पर्वको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

कैलालीमा ओल्के पर्वको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

धनगढी । कैलालीको अत्तरियामा सुदूरपश्चिमेलीहरुको महान पर्व ओल्केको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बैतडी दार्चुला सास्कृतिक सम्बर्द्धन समिति गोदावरीको आयोजनामा गोदावरी नगरपालिका – २ धर्मशाला निर्माण स्थलमा शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त रक्तदान कार्यक्रममा ५१ जनाले रगत दान गरेको समितिका पुर्व सह–सचिव धर्म कुँवरले बताए । यस क्षेत्रमा भइरहने रगत अभावलाई मध्यनजर गरी ओल्केको अवसरमा सामाजिक कार्य अन्तरगत रक्तदान गरिएको सामाजका अध्यक्ष लक्ष्मी राज पन्तले बताए ।
सो अवसरमा सहभागिहरुले एक अर्कालाई शुभकामना दिएर ओल्के पर्व मनाएका थिए । समाजका अध्यक्ष पन्तको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका प्रमुख डा। डम्बर पाल रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा देवी दल गणका सेनानी गणेश थापा र सुदूरपश्चिम युवा परिषद्का सदस्य शेर बहादुर बिष्ट रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख पालले संस्कृति संरक्षणका लागि बैतडी दार्चुला सास्कृतिक सम्बर्द्धन समितिले गरेको काम सराहनिय भएको बताए । उनले यस क्षेत्रको संस्कृति संरक्षणका लागि यस्ता कार्यक्रमको ठूलो महत्त हुने बताए ।

समितिका उपाध्यक्षमा भिम दत्त पाण्डेयले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन समाजका सचीव गणेश महराले गरेका थिए ।

सो अवसरमा समाजले ‘बूढी’ पनि निर्माण गरेको थियो । ‘बूढी पोल्ने’ पर्व अन्तरगत समाजको धर्मशाला निर्माण स्थलमा बुढी बनाइएको हो । उक्त बुढी असोज १ गतेका दिन पोलिने जनाइएको छ ।