कञ्चनपुरमा वातावरणीय परीक्षण बिनै संरचना बनाईदै

कञ्चनपुरमा वातावरणीय परीक्षण बिनै संरचना बनाईदै

कञ्चनपुर। कञ्चनपुरमा वातावरणीय परीक्षणबिनै भौतिक संरचना निर्माण गरिन थालिएका छन् । कञ्चनपुरको लालझाडी मोहना संरक्षित वन क्षेत्रअन्तर्गतको गडविजुला सामुदायिक वनमा ठूलो संरचना निर्माणाधीन अवस्थामा छन् । प्रारम्भिक वातावरणीय परीक्षण (आईई) बिना नै निर्माण भइरहेको उक्त संरचनाको काम ६ महिनादेखि अलपत्र पाइएको स्थानियले बताएका छन् ।
कञ्चनपुरको लालझाडी मोहना संरक्षित क्षेत्रको गडबिजुला सामुदायिक वनमा निर्माणाधीन इको पार्क पनी यस्तै अवस्थामा छ । कृष्णपुर नगरपालिका र पर्यटन मन्त्रालयको लगानीमा निर्माण हुन लागेको इको पार्कको काम डिभिजन वन कार्यालले गत माघदेखि रोकेको छ । जग्गा प्राप्तिको प्रक्रिया पूरा नगरेरै र आईई समेत स्वीकृत नभएको अवस्थामा काम भएको भन्दै डिभिजन वन कार्यालय कञ्चनपुरले काम रोकेको हो। पूर्व पश्चिम राजमार्ग छेउमै मछेली खोला किनारमा करिब अढाई हेक्टर वन क्षेत्रमा इको पार्कका नाममा संरचना निर्माण हुन लागेको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु तिवारीलेवन क्षेत्रमा त्यत्रो संरचना निर्माण भइरहेपनि जग्गा प्राप्ति नभएको बताए । आईई रिपोर्ट पनि स्वीकृत नभएको बताए । पर्यटन मन्त्रालयले जग्गा प्राप्तिपछि मात्रै संरचना निर्माणको काम गर्न भनेको छ । तर नगरपालिकाले जग्गा प्राप्ति त के आईईसमेत स्वीकृत नगरेको उनको भनाई छ ।गडबिजुला सामुदायिक वन उपभोक्ता समितिले इको पार्क निर्माणको निर्णयपश्चात् कृष्णपुर नगरपालिकाले उक्त कार्य अगाडि बढेको हो । तर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसम्मले आईई गर्नुपर्नेतर्फ भने ध्यान नदिएको उनको आरोप छ । यता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवसिंह भण्डारीले त्यतिबेला हतारमा काम गर्नुपर्ने भएकाले आईई स्वीकृत हुन नसकेको बताए।
अहिले आईई स्वीकृतिको प्रक्रियामा छ, यस वर्ष पनि नगरपालिकाले बजेट छुट्याएको बताएका छन् ।पर्यटन मन्त्रालयको २ करोड ४० लाख र कृष्णपुर नगरपालिकाको १ करोड २८ लाखमा उक्त इको पार्क निर्माणको प्रक्रिया अघि बढेको हो । चालु आर्थिक वर्षमो फागुन भित्रै निर्माण सक्ने गरि ठेक्का सम्झौता पनि भएको हो । तर प्रक्रियाबिना नै थालिएको काम ६ महिनादेखि अलपत्र परेको छ । घना वन क्षेत्रका बीचमा निर्माण भइरहेको संरचनाले भविष्यमा वन क्षेत्र प्रभावित हुन सक्ने जोखिमसमेत रहेको संरक्षणकर्मीहरू बताउछन् । इको पार्क निर्माण स्थलकै छेउमा एउटा ताल पनि छ । सोही ताललाई लक्षित गरि पर्यटकीय गतिविधि बढाउने सकिने लक्ष्यका साथ पार्क निर्माणको निर्णय भएको सामुदायिक वनका अध्यक्ष अक्कल बोहराले बताए । उनले सुरुमा नगरपालिकाले आईईदेखि सबै प्रक्रिया पूरा गरेर ढाँटने काम गरेको बताए ।

डिभिजन वन प्रमुख तिवारीले ताल संरक्षणका लागि केही सामान्य गतिविधि मात्रै भए जग्गा प्राप्ति नगर्नुपर्ने भए पनि ठूलो संरचना निर्माणको काम जग्गा प्राप्तिबिना नै नहुने बताए । इको पार्कको शिलान्यासका दिन तिवारी आफैं पनि उक्त क्षेत्रमा पुगेका थिए । त्यसपछि पनि निर्माण स्थलमा पुगेर कामका बारेमा सोधपुछ गरेको अध्यक्ष बोहराले बताए । निर्माण सुरु भएको एकरडेढ महिनामै प्रक्रिया नपुगेको र माथिबाटै दबाब आएको भन्दै रोक्न लगाएको उनले बताए ।कृष्णपुर नगरपालिकाले इको पार्क निर्माणका लागि गत वर्ष ६० लाख रकम छुट्याएको थियो । यस वर्ष पनि गौरवको आयोजनामा राखेर ३० लाख छुट्याएको नगर प्रमुख हेमराज ओझाले बताए । उनले निर्माणका लागि प्रक्रिया पुर्‍याउने काम पनि भइरहेको छ ।विगतमा कसले के गरे कहाँ कमजोरी भएपनी ‘सबै प्रक्रिया पुर्‍याएर छिट्टै काम सुचारु हुने उनले बताए ।संरक्षित क्षेत्रको वनभित्र संरचना निर्माणको प्रक्रियाका विषयमा जनप्रतिनिधि चुके पनि नगरपालिकाका प्राविधिक र प्रमुख प्रशासकीय अधिकृतले ध्यान दिनुपर्ने वनकर्मीहरू बताउँछन् । उनीहरूकै लापरबाहीका कारण कारण वन क्षेत्रमा बिना प्रक्रिया संरचना निर्माण भएको र अहिले अलपत्र परेको सामुदायिक वनका अध्यक्ष अक्कल बोहराले बताएका छन्।