कैलालीका २ हजार ५ सय उम्मेदवारले अझै बुझाएनन् चुनावी खर्च

कैलालीका २ हजार ५ सय उम्मेदवारले अझै बुझाएनन् चुनावी खर्च

धनगढी  । स्थानीय तह निर्वाचन सम्पन्न भएको ३ महिनासम्म पनि कैलालीका अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्।

 जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार स्थानीय तह निर्वाचनमा जिल्लामा  तीन हजार ७३ जनाले उम्मेदवारी दिएका थिए । तर उनीहरूमध्ये ५ सय ७० जनाले मात्रै उम्मेदवारले खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।  निमित्त प्रमुख भट्टका अनुसार अब २ हजार ५ सय ३ जनाले निर्वाचन खर्च विवरण बुझाउन बाँकी रहेको जनाएको छ ।

मत परिणाम सार्वजनिक भएको   १ महिना भित्र खर्च विवरण बुझाउनुपर्ने भए पनि कैलालीका उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । 

जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिनाभित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । उम्मेदवारले सम्पूर्ण खर्च विवरण स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ को उपदफा २ र स्थानीय तह निर्वाचनसम्बन्धी २०७३ को नियम ४० तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिताबमोजिम खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ ।

उम्मेदवारले मतपत्र खरिद, सवारी साधन तथा गाडी घोडाको प्रयोग, सवारी तथा इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन लगायत विविध निर्वाचन खर्च विवरण पठाउनुपर्ने नियम छ । निर्वाचन आयोग ऐनमा उम्मेदवारले खर्च विवरण नबुझाएमा ५ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ। ६ महिनासम्म जरिवाना नतिरेमा ६ वर्षसम्म उम्मेदवार हुनै नपाउने कानुनी व्यवस्था समेत कानुनमा छ।