सुदूरपश्चिम प्रदेशमा ९ औं राष्ट्रिय खेलकुदको तयारी सुरु

सुदूरपश्चिम प्रदेशमा ९ औं राष्ट्रिय खेलकुदको तयारी सुरु

धनगी ।  ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले तयारी सुरु गरेको छ । आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने ९ औं राष्ट्रिय खेलकुदका लागि परिषद्ले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

परिषद्को बोर्ड बैठकले सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुको जिल्ला छनोट र त्यसपछि प्रदेश छनोटको लागि मिति तय बताएको छ । परिषद्को बोर्ड बैठकले भदौ १० देखि १५ गतेसम्म जिल्लाहरुको छनोट र भदौ १८ देखि २५ गतेसम्म प्रदेश छनोटको मिति तोक्ने निर्णय गरेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंहले जानकारी दिए । 


सदस्य सचिव सिंहका अनुसार सुदूरपश्चिम प्रदेशले ३३ वटा खेलमा भाग लिनेछ । यो प्रदेशले ट्राईथालन, गल्फ र स्क्वास बाहेकका खेलमा सहभागीता जनाउनेछ । नवौं  राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्षमा ९० लाख रकम विनियोजन गरेको थियो । तर सो रकम पर्याप्त नभएको सदस्य सचिव सिंहले बताए । ‘हामीलाई सरकारले विनियोजन गरेको बजेट एकदमै न्युन छ । त्योभन्दा १० गुणा बढी बजेट तयारी र छनोटमा आवश्यक पर्छ ।’ उनले भने–‘आवश्यक थप बजेट माग गरेका छौं । ९० लाख बजेटले काम गर्न नसकिने भएकोले ११ करोड बढी रकम सामाजिक विकास मन्त्रालयसँग माग गरेका छौं । त्यो हामीले लिखित रुपमै पत्राचार गरेर पठाईसकेका छौं ।’ तर अर्थ मन्त्रालयले भने अहिलेसम्म त्यसलाई पास गरेको छैन् ।