डीपीएल–२ को उद्घाटन खेलमा धनगढी र काठमाडौं भिड्ने

डीपीएल–२ को उद्घाटन खेलमा धनगढी र काठमाडौं भिड्ने

प्रतिक्षित रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन टीम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्ने भएका छन्।

आयोजना धनगढी क्रिकेट एकेडेमीले बुधबार सार्वजनिक गरेको खेलतालिका अनुसार चैत्र १७ गते दिउँसो १ बजे एसएसपी कार्यकालको मैदान, धनगढीमा यी दुई टोलीहरु आमने सामने हुनेछन्।

यस्तै, चैत्र १८ गते विहान रुपेन्देही च्यालेन्जर्स र सीवाइसी अत्तरियाबीच खेल हुनेछ भने दिउँसो महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्स भिड्ने भएका छन्।  चैत्र १९ गते धनगढी र अत्तरिया तथा रुपेन्देही र काठमाडौं, चैत्र २० गते महेन्द्रनगर र धनगढी, चैत्र २१ गते रुपेन्देही र विराटनगर तथा अत्तरिया र काठमाडौं भिड्दैछन्।

यसैगरि लिगचरणका अन्य खेलहरुमा चैत्र २२ गते धनगढी र विराटनगर तथा रुपेन्देही र महेन्द्रनगर, चैत्र २३ गते विराटनगर र काठमाडौं, चैत्र २४ गते महेन्द्रनगर र अत्तरिया तथा धनगढी र रुपेन्देही, चैत्र २५ गते काठमाडौं र महेन्द्रनगर तथा अत्तरिया र विराटनगर आमनेसामने हुने भएका छन्।

लिगचरणको पहिलो र दोस्रो हुने टोलीले चैत्र २७ गते पहिलो क्वालिफायर खेल्नेछ। उक्त खेलको विजेता फाइनलमा पुग्नेछ भने पराजित टोली २८ गते हुने दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।

 

 

यस्तै, २७ गते नै लिगचरणको तेस्रो र चौथो हुने टोलीबीच दोस्रो क्वालिफायरमा पुग्नका लागि प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित टोलीसँग २८ गते हुने दोस्रो क्वालिफायरमा भेट गर्नेछ।

दुवै क्वालिफायरका विजेताहरुबीच चैत्र ३० गते फाइनल खेल हुनेछ। सवै खेलको प्रत्यक्ष प्रशारण एपीवान टेलिभिजनबाट हुने आयोजकले जनाएको छ।

देशकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पाउँनेछन्। यस्तै तेस्रो हुने टोलीलाई तीन र चोथो हुने टोलीलाई २ लाख रुपैयाँ दिइने आयोजकले जनाएको छ। करिब तीन करोडको लागतमा आयोजना हुन लागेको प्रतियोगिताको प्रत्येक खेलको म्यान फ द म्याचले १० हजार तथा म्यान अफ द सीरिजले मोटर साइकल पाइने आयोजकले जनाइसकेकोछ।

प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भई राष्ट्रको नाम उचो बनाउन सघाउ पुर्याउने एक पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ प्रदान गरिने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए। दुबै सम्मानको पुरस्कार राशी समान १—१ लाख रुपैयाँ रहने शाहीले बताए।